१ जेष्ठ २०८३, शुक्रबार

प्रधानमन्त्री बालेनले ताने अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमा


प्रधानमन्त्री बालेनले ताने अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमा

काठमाडौँ । देशको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत पुगेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालय मातहत रहेको विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याएका हुन् ।

बुधबार पारित भएको कार्यसम्पादन नियमावली २०८३ अनुसार विभागलाई प्रधानमन्त्री कार्यालयमातहत राखिएको हो । विभागका अधिकारीहरूले गुप्तचर संस्था संसारभर नै प्रधानमन्त्री कार्यालय अन्तर्गत रहने भन्दै नेपालमा पनि त्यही व्यवस्था लागू हुनुपर्ने लबिङ गर्दै आएका थिए ।

प्रधानमन्त्री शाह प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउने प्रयासमा छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गृह मन्त्रालय मातहत रहेको विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए । २०७४ मा तत्कालीन नेकपा सरकारका बेला गुप्तचर विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याइएपछि त्यसको चर्को आलोचना भएको थियो ।

पछि तत्कालिन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गुप्तचरसहित ती तीनै विभागलाई पुनः सम्बन्धित मन्त्रालय मातहत फर्काएको थियो । अहिले कार्यविभाजन हेरफेर गर्ने क्रममा प्रधानमन्त्री शाहले गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री कार्यालयमा तानेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !