काठमाडौँ । नेपाल टेलिकमको मुनाफामा चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अवधिसम्म करिब १३ प्रतिशतले गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा नाफा २६ करोड पाँच लाख २६ हजार अर्थात् २.६० प्रतिशतले घटेको हो ।
टेलिकमले चालु आर्थिक वर्षको पुस मसान्तसम्म चार अर्ब १६ करोड ४५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको नाफा चार अर्ब ७८ करोड ५९ लाख रुपैयाँ रहेको थियो । यो गत वर्षको तुलनामा १२.९८ प्रतिशतको कमी हो ।
कम्पनीको कुल आयमा पनि गिरावट देखिएको छ । गत वर्षको पहिलो ६ महिनामा १९ अर्ब ५१ करोड ९२ लाख रुपैयाँ कुल आय गरेको टेलिकमले यस वर्षको सोही अवधिसम्म १९ अर्ब २२ करोड ७२ लाख रुपैयाँ (अर्थात् १.५ प्रतिशत कम) आम्दानी गरेको छ । यद्यपि, कम्पनीको कुल सञ्चालन आय भने १.७३ प्रतिशतले वृद्धि भई १७ अर्ब २९ करोड ९७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ४६ रुपैयाँ २७ पैसा रहेको विवरणमा उल्लेख छ ।
नेपाल टेलिकमले नाफा घट्नुमा बाह्य र आन्तरिक दुवै कारणहरू औँल्याएको छ । भाइबर, ह्वाट्सएप,मेसेन्जर जस्ता ओटीटी सेवाहरूको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय आगमन कल र कम्पनीको परम्परागत भ्वाइस तथा एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परेको छ । अन्तरआबद्धता आय मात्रै गत आवको दोस्रो त्रैमासिकसम्मको तुलनामा करिब ६.१४ प्रतिशतले घटेको देखिन्छ ।
बैंक ब्याजदरमा आएको गिरावट र लगानीको मूल्यमा भएको परिवर्तनका कारण कम्पनीको ब्याज आय ३२ प्रतिशत अर्थात् करिब ७४ करोड ६३ लाख रुपैयाँ बढीले घटेको छ । कर्मचारीको बीमा शुल्कमा भएको वृद्धि र योगदानमा आधारित पेन्सन योजनाको दायित्व बढ्दा कर्मचारी खर्चमा ११.५ प्रतिशतको वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रको सञ्चार भएको नाताले दुर्गम र विकट क्षेत्रमा सेवा विस्तार गर्दा लागत बढिरहेको तर प्रतिफल न्यून हुने गरेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार सेवाको दररेट निर्धारण सम्बन्धी नयाँ नीति र नियमहरूका कारण आम्दानीमा उल्लेख्य वृद्धि हुन नसकेको र चालु वर्षको कर दायित्वमा पनि वृद्धि भएकाले खुद नाफामा असर परेको हो ।
आम्दानीका केही स्रोतहरू खुम्चिए पनि विदेशी मुद्रा सटही दरमा भएको परिवर्तनका कारण टेलिकमले विदेशी मुद्रा सटही नाफामा १५० प्रतिशतको बढोत्तरी गरेको छ । कम्पनीले हाल फाइबर टू द होम (एफटीटीएच) र फोरजी एलटीई सेवाको विस्तारलाई प्राथमिकता दिँदै आम्दानीका नयाँ स्रोतहरू पहिचान गर्ने रणनीति लिएको जनाएको छ ।













