काठमाडौँ । नेपाल टेलिकमको एसएमएस सेवा आज रातभर अवरुद्ध हुने भएको छ । एक सूचना जारी गर्दै टेलिकमले आफ्नो प्रणालीमा प्राविधिक सुधार गर्न लागेकाले सेवा प्रभावित हुने जानकारी दिएको हो ।
नयाँ ‘एसएमएससी’ (SMSC) सिस्टममा डेटा माइग्रेसन गर्ने कार्यका लागि सेवा अवरुद्ध हुन लागेको हो । यो प्रक्रिया आज (पुस २९ गते) राति ११:३० बजेदेखि भोलि बिहान ४:२० बजेसम्म सञ्चालन हुनेछ ।
उक्त निर्धारित समयमा ग्राहकले एसएमएस पठाउन वा प्राप्त गर्न कठिनाइ हुन सक्ने कम्पनीले जनाएको छ । टेलिकमले आफ्नो प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यो प्राविधिक कार्य गर्न लागिएको उल्लेख गरेको छ ।
एसएमएस सेवामा पर्न जाने असुविधाप्रति नेपाल टेलिकमले ग्राहकसँग क्षमासमेत मागेको छ । राति ११:३० बजेदेखि बिहान ४:२० बजेसम्मको समयमा एसएमएस बाहेकका अन्य दूरसञ्चार सेवाहरू (कल र इन्टरनेट) भने नियमित रूपमा सञ्चालन हुनेछन् ।












