काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय अन्तर्गतका निकायका सबै कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । आज मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री खरेलले उक्त निर्देशन दिएका हुन् ।
मन्त्री खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाउन आग्रह गरे । उनले पिएसबीको कन्टेन्टमा नवीनता र सिर्जनशिलता तथा प्रस्तुतिमा निखारपन आउनुपर्नेमा जोड दिए ।
मन्त्री खरेलले दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई अपेक्षित उपलब्धि हाशिल गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।












