१५ चैत्र २०८२, आइतबार

मनाङको तिलिचो बेसक्याम्प पुग्यो नेपाल टेलिकमको फोरजी सेवा


मनाङको तिलिचो बेसक्याम्प पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

काठमाडौँ । नेपाल टेलिकमको फोरजी सेवा तिलिचो बेसक्याम्पमा पनि पुगेको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र फिल्ड इन्जिनियर निरज गुप्ताले फोरजीमार्फत भिडिओ कल गर्दै फोरजी सेवाको औपचारिक सुरुआत गरेका हुन् ।

तिलिचोमा फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीयसँगै पदयात्रीहरूलाई सहज हुनेछ । तिलिचो आफैँमा ट्रेकिङका लागि देशकै लोकप्रिय पदमार्गमा पर्छ ।

तिलिचो पुग्ने पदयात्रीहरू लेक लागेर बिरामी पर्ने गरेका छन् । फोरजी सेवा सञ्चालनमा आएर सञ्चार सम्पर्क स्थापित भएपछि अब बिरामीहरूको उद्दारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सञ्चारमन्त्री खरेलले देशका दुर्गम भेगहरूमा सञ्चार सम्पर्क स्थापना गर्ने लक्ष्यअनुसार नेपाल टेलिकमले काम गरेकामा धन्यवाद दिए । फिल्ड इन्जिनियर गुप्ताले तिलिचो क्षेत्रमा पनि विद्युतीय भुक्तानी हुने गरेको सुनाउँदै राम्रो नेटवर्क नहुँदा समस्या पर्ने गरेकामा अब फोरजी नेटवर्क सञ्चालनमा आएसँगै विद्युतीय भुक्तानी पनि सहज हुने बताए ।

टेलिकमले मनाङ जिल्लाका दुर्गम तथा विकट स्थानहरूमा धमाधम टुजी र फोरजी सेवा सञ्चालनमा ल्याइरहेको छ । टेलिकमले बिहीबारदेखि बझाङको तलकोट गाउँपालिका-बुङ्गाडाँडामा फोरजी सेवा सञ्चालनमा ल्याएको थियो ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको वडा नम्बर १ पिसाङ, वडा नम्बर ३ वल, वडा नम्बर ८ टङ्की मनाङ र वडा नम्बर ९ खाङसारमा भी-स्याट प्रविधिबाट टेलिकमले टुजी सेवा दिइरहेको थियो । पर्यटकीय दृष्टिकोणले समेत अत्यन्तै महत्त्वपूर्ण क्षेत्र भएको, स्थानीय तथा व्यवसायीहरूको चापका कारण भी-स्याट प्रविधिबाट गुणस्तरीय सेवा दिन कठिन भएपछि टेलिकमले ती क्षेत्रमा ४ असोजदेखि फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !