४ असार २०८१, मंगलबार

काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने


काठमाडौँको मौसम_आकाश

काठमाडौँ । काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा आज सामान्य वर्षाको सम्भावना क्षीण छ । यद्यपि यहाँको आकाशमा बादल लाग्ने सम्भावना छ । यहाँको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ ।

सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी इलाकामा मौसम सफा छ । कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा पनि भइरहेको विभागले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक मौसम सफा रहने पूर्वानुमान गरेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !