७ असार २०८१, शुक्रबार

गर्मी बढेपछि वीरेन्द्रनगरका विद्यालय बन्द, खोप कार्यक्रम प्रभावित


वीरेन्द्रनगर सुर्खेत

भेरीगङ्गा, सुर्खेत । अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरभित्रका विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेको भन्दै निजी विद्यालयको छाता सङ्गठन प्याब्सनले यही जेठ २० गते आइतबारदेखि एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

आज वीरेन्द्रनगरको तापक्रम करिब ४० डिग्री मापन भएको छ । गर्मीले बालबालिकाको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याब्सन सुर्खेतका अध्यक्ष बेदप्रकाश ढकालले जानकारी दिए । उनका अनुसार गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा हुनसक्ने असरलाई मध्यनजर गर्दै सामूहिक छलफलपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

यसैबीच, वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालय पनि बन्द गर्ने तयारी गरिएको छ । वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख धीरेन्द्र शर्मा लम्सालले गर्मी अत्यधिक बढेको भन्दै नगरभित्रका विद्यालय बन्द गर्ने तयारी गरिएको जानकारी दिए । यसबारे आधिकारीक निर्णय भने भइनसकेको उनको भनाइ छ ।

“गर्मी बढेपछि हामीले नगरभित्रका विद्यालय बन्द गर्ने तयारी गरिरहेका छौँ”, लम्सालले भने, “यदी वर्षा भई तापक्रम घट्यो भने विद्यालय बन्द हुँदैनन् । गर्मी यही अवस्था कायम रहे आइतबारदेखि विद्यालय बन्द गर्ने निर्णय गर्छौँ ।”

खोप कार्यक्रम प्रभावित

यही जेठ १३ देखि २६ गतेसम्म पोलियो रोगविरुद्धको खोप अभियान सुरु भइरहेको छ । विद्यालयसँगको समन्वयमा खोप कार्यक्रम सञ्चालन गर्ने तालिका तय गरिए पनि विद्यालय बन्द हुने भएपछि खोप अभियान प्रभावित हुन पुगेको हो ।

सुर्खेतका पालिकामा दुई चरणमा खोप अभियान सञ्चालन गरिएको छ । वीरेन्द्रनगर, गुर्भाकोट, पञ्चपुरी नगरपालिका सिम्ता, बराहाताल र चौकुने गाउँपालिकामा यही २२ गतेदेखि २५ गतेसम्म खोप अभियान सञ्चालन गर्ने तालिका छ ।

विद्यालयसँगको समन्वयमा अभियान सञ्चालन भइरहेको भन्दै वीरेन्द्रनगरभित्रका विद्यालय बन्द भए तालिका परिवर्तन गर्ने जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका खोप ‘फोकल प्रसन’ घनबहादुर बुढाले बताए ।

“अभियानको पहिलो चरण सञ्चालन गरिरहेका छौँ”, उनले भने, “विद्यालयसँगको समन्वयमा अभियान सञ्चालन गर्ने भनिएको छ । वीरेन्द्रनगरका विद्यालय बन्द भए हाम्रो तालिकामा पनि प्रभाव पर्ने भएकाले तालिका परिवर्तन गर्नुपर्ने हुन्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !