११ पुस २०८१, बिहीबार

नारायणी र गण्डकीमा पानीको बहाब बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह


नारायणी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव छ । देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले नारायणी र गण्डकी नदीको पानी सतर्कता तहमा पुगेको छ ।

महाशाखाका अनुसार चितवनको भरतपुर, रामपुर र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको छ । थप वर्षा हुने सम्भावना भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानका वासिन्दाले बुधबार बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

चितवन प्रशासनले नारायणी, राप्ती लगायत चितवनका नदी किनारमा रहने नागरिकले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले अत्यन्त जरुरी सूचना जारी गर्दै सो सर्तकता अपनाउन अनुरोध गरेको हो ।

सूचनामा चितवन लगायत आसपासका जिल्लाहरुमा लगातार पानी परिरहेकाले जिल्लाका धेरै स्थानमा बाढी, पहिरो, नदी कटानको सम्भावना रहेकोले आम नागरिकलाई सर्तकता अपनाउन अनुरोध गरिएको छ । बाढी आएको समयमा नदीमा माछा मार्ने, पौडी खेल्ने र दाउरा संकलनको काम नगर्न पनि भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !