१३ आश्विन २०८१, आइतबार

सप्तकोशी नदीमा पानीको बहाव बढ्यो, चतरामा वार्निङ लेवलमा पानी


सप्तकोशी नदीमा पानीको वहाव बढ्दै

इनरुवा, असार २६ । सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ । पूर्वी पहाडी भेगमा जारी निरन्तरको बर्षासँगै कोशी नदीको जलस्तर बढ्ने क्रममा छ । सप्तकोशी नदीमा हिजोको तुलनामा आज पानीको बहाव बढ्दो क्रममा देखिएको छ । पहाडी भेगमा भएको वर्षाको पानी नदीमा मिसिएर मापनमा आइपुग्न घण्टौं लाग्ने भएकाले समेत कोशीको बहाव आज रातीबाट थप बढ्न सक्ने आंकलन गरिएको छ ।

कोशीको चतरा मापन केन्द्रले दिएको जानकारी अनुसार सो स्थानमा यतिबेला पानीको सतह सर्तकता तहमा पुग्न लागेको छ । नदीको सतह वार्निङ लेवलमा प्रवेश गरेको छ । पानी बढ्ने क्रममा देखिएकाले कोशीको पानीले आज दिउँसो सम्ममा सर्तकता तह पार गर्न सक्ने उनको अनुमान छ । चतराको मापन अनुसार ५ दशमलव ६० मिटर वार्निङ लेवल हो भने ६ दशमलव ८० मिटर तह डेन्जर ।

चतराको मापनमा आएको पानी ब्यारेज सम्म आइपुग्न ३ देखि ४ घण्टा लाग्ने भएकाले समेत अपरान्ह पश्चात कोशी ब्यारेजको बहावमा थप वृद्धि हुन सक्ने अडकल काटिएको छ । यतिबेला पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव २ लाख ७ हजार ७ सय १५ क्युसेक प्रतिसेकेण्ड रहेको छ । ब्यारेज पुलका ३० वटा ढोका खोलिएका छन् । ब्यारेज पुलका लागि सो बहाव डेन्जर सरह हो ।

कोशीमा थुप्रिदो बालुवाका कारण नदीले कति पानी सहजै धान्ला भनी यकिन गर्न सक्ने अवस्था भने छैन् । थुप्रिदो बालुवा र बाढीसँगै बगेर आउने मुडाहरु ब्यारेज पुल आसपास थुप्रिदा पानी निकासमा समस्या आए त्यसले ब्यारेज पुलमा जोखिम निम्त्याउने सम्भावना रहन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !