११ श्रावण २०८१, शुक्रबार

घरको जग खन्दा वा शिलान्यास गर्दा नागको चर्चा किन हुन्छ ?


शिलान्यास फाइल फोटो

काठमाडौँ । कुनै नयाँ घडेरी किन्दा होस् वा नयाँ घर बनाउन शुरु गर्ने क्रममा घरको जग खन्दा नागको चर्चा हुने गर्छ । आखिर यसरी जमीन र नागको बीचमा के अन्तरसम्वन्ध छ त यस विषयमा चर्चा गरौ ।

हिन्दू धर्ममा नागलाई सर्पहरुका राजा भनिन्छ । पानी विना जीवहरु बाच्न सक्दैनन् । नागहरु रिसाए पानीको अभाव सिर्जना गरिदिन्छन् । त्यस्तो संकट नआवोस् भनेर पनि नागको पूजा गरिन्छ । नाग रिसाएर घर छाडी गएमा घरको जग नै पल्टिने वा घरमा दु:ख दिने हुदा घरको शिलान्यास गर्दा नाग पूजा गर्ने चलन पनि रहेको छ ।

प्रत्येक मनुष्यको आफ्नै घर होस् र त्यो घरमा सुख र आनन्दमय तरिकाले जीवन कटोस्, भन्ने भित्री इच्छा रहेको हुन्छ । तर समयमा वास्तुशास्त्र नमिलाई घरको जग खनेमा ठिक विपरित हुन गई घरमा सुख-शान्तिको सट्टा अशान्ति र दु:ख भोग्नुपर्ने स्थिति सिर्जना हुन्छ ।

घर बनाउदा सवभन्दा पहिला भूमिपूजन गरिन्छ । डोब वा जग खनिन्छ । डोब वा जग खन्दा विशेषतः वास्तु पुरुषको अवस्था अर्थात् मर्म स्थानमा खन्नु हुँदैन । त्यस्तै राहुको अवस्था अनुसार मुख र पुच्छरमा डोब खन्नु हुँदैन । घर बनाउन थाल्दा पहिलो डोब राहुको मुख र पुच्छर जोगाएर खन्नु पर्दछ । घर बनाउदा राहुसंगसंगै नागको शिरको पनि मूख्य भूमिका हुने गर्दछ ।

जुन घरमा नागको बास हुन्छ त्यो घरमा लक्ष्मीको निवास हुन्छ भन्ने विश्वास गरिन्छ तर नागको पूजा भने गर्न जरुरी हुन्छ । नागको शिरमा बहुमूल्य मणि हुन्छ । मानिन्छ कि प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिंदै आइएको हो ।

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो ।

नयाँ घर बनाउँदा घरको जग खन्ने बेलामा नागको शिरको विचार गर्नुपर्छ भन्ने शास्त्रिय विधान रहेको छ । नागको शिरमा खन्दा आफुलाई पिडा, पछाडी खन्दा छोरा र पत्नीलाई दु:ख, जाँघमा खने अनावश्यक व्यय हुने, पेटमा खने सर्वत्र सफलता पाइन्छ ।

घरको जग राख्ने वा शिलान्यास गर्ने समयमा नागको शिरमा पूजा गर्दा आफ्नै मृत्यु हुन्छ, पृष्ठ भागमा पूजा गर्दा छोरा र श्रीमतीको मृत्यु हुन्छ । जंघा भागमा परेमा धन हानी हुन्छ भने पेटमा पुजा गरे सबै प्रकारका सम्पत्तिहरु प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ ।

तसर्थ नयाँ घर बनाउँदा घरको जग खन्ने बेलामा नागको शिरको विचार गर्नुपर्छ भन्ने शास्त्रीय विधान रहेको छ । नागको शिरमा खन्दा आफुलाई पिडा, पछाडी खन्दा छोरा र पत्नीलाई दु:ख, जाँघमा खने अनावश्यक व्यय हुने, पेटमा खने सर्वत्र सफलता पाइन्छ ।

गृहनिर्माण आदि कर्ममा नागको मुखपुच्छज्ञान गरेर मात्र घर वनाउन आरम्भ गर्ने नियम ज्योतिष र वास्तु शास्त्रमा वर्णन पाइन्छ । घडेरीको कुनै एक स्थानमा नागका लागि स्थान छुट्याउने र पूजा गर्ने परम्परा छ । नागको मूर्ति नै थापेर वा शिला थापेर नागको थान बनाइन्छ । घर वा कुनै भौतिक संरचनाको जग खन्दा पनि नागको शिरको विचार गरिन्छ । विशेषगरी सोमबार पारेर नागको पूजा गरिन्छ ।

पूजा गर्दा नागको शिर कता छ भनेर विचार पुर्याउनुपर्छ भन्ने मान्यता छ । नागको शिर महिना अनुसार परिवर्तन भइरहेको हुन्छ तसर्थ हामीले जग राख्ने बेला नागको शिर अनुसार मिलाएर गर्न उचित हुन्छ ।

ज्योतिषशास्त्रका अनुसार भदौदेखि तीन महिना भाद्र, आश्विन र कार्तिकमा पूर्व दिशामा, मंसिरदेखि तीन महिना मंसिर, पुष र माघमा दक्षिण दिशामा, फागुनदेखि तीन महिना फागुन, चैत्र र बैशाखमा पश्चिम दिशामा र जेठदेखि तीन महिना जेठ, असार र श्रावणमा नागको शिर उत्तर दिशामा हुने उल्लेख छ ।

विशेषगरी पानीको मूल भएको ठाउँमा नागको बास हुने मान्यता छ । यस्ता ठाउँमा फोहोर गर्नुहुँदैन नागले दुःख दिन्छ वा ‘नाग लाग्छ’ भन्ने विश्वास गरिन्थ्यो पहलेपहिले । त्यसैले पानीका स्रोतहरू स्वच्छ रहन्थे । वातारवरण स्वच्छ रहन्थ्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !