– पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने दौडमा बाँके राष्ट्रिय निकुञ्ज लागे पनि सोचेअनुसारको नतिजा ल्याउन सकेको छैन । गत आर्थिक वर्ष २०७५/०७६ मा निकुञ्जमा आन्तरिक र बाह्य गरी १५० पर्यटक घुम्न आएको तथ्याङ्कले देखाउँछ । ती मध्ये बाह्य विदेशी पर्यटकको सङ्ख्या आठ मात्र रहेको छ । अन्य निकुञ्जका तुलनामा यस निकुञ्जमा पर्यटक कम आउने कारणको खोजी गरी नयाँ रणनीतिक योजना बनाउन लागिएको निकुञ्ज प्रमुख प्रमोद भट्टराईले जानकारी दिनुभयो ।
पर्यटक भित्र्याउने योजनाअन्तर्गत निकुञ्जले यहाँका जनप्रतिनिधि, होटल तथा यातायात व्यवसायी, पत्रकार, उद्योगी, व्यापारी र अन्य सरोकारवाला पक्षसँग छलफल कार्यक्रमको आयोजना गरी राय सुझाव लिने काम पनि गरिरहेको उहाँले बताउनुभयो । बाँके जिल्लामा नेपाल भ्रमण वर्षको गतिविधि कम भएकाले निकुञ्जमा पर्यटकको उपस्थिति बढ्न नसकेको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भीमलाल कँडेलको जानकारी दिनुभयो । उहाँका अनुसार, भ्रमण वर्षलाई दृष्टिगत गरी सङ्घले नेपालगञ्जमा प्रथम सडक खाना महोत्सव (फुड फेस्टिबल) गर्न लागेको छ । यही फागुन २३ देखि २४ गतेसम्म हुने खाना महोत्सवमा भारतीय पर्यटक समेत भित्र्याउने सङ्घको योजना छ । करिब ५० हजारले अवलोकन गर्ने र रु दुई करोड बढीको कारोवार हुने लक्ष्य लिइएको महोत्सवमा आउने पर्यटकलाई बाँके निकुञ्ज पु¥याउने सकिने अध्यक्ष कँडेलले बताउनुभयो ।
सो निकुञ्ज नेपालगञ्जदेखि २० किलोमिटर टाँढा पूर्व–पश्चिम राजमार्गको छेउमै अवस्थित छ । राजमार्गको चौबाटो कोहलपुर चोकवाट पूर्व, पश्चिम र उत्तरी क्षेत्रमा अवस्थित यो पाटेबाघको मुख्य क्रिडास्थलका रुपमा समेत परिचित छ । निकुञ्जको मनमोहक प्राकृतिक छँटा, विभिन्न थरीका वन्यजन्तु, नदीनाला र विभिन्न जातिका परम्परागत आवास घर (होमस्टे) ले निकुञ्जको शोभा बढाएको छ ।
आठ वर्षअघि स्थापना भएको यो निकुञ्जमा पाटेबाघको सङ्ख्या २१ पुगेको निकुञ्जका प्रमुख भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार, पछिल्लो समय बाघको सङ्ख्या बढ्दै गएपछि पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुने क्रम बढेको छ ।
गाभर भ्याली सामुदायिक होमस्टे र चुरिया रेन्जले पनि निकुञ्जको शोभा बढाएको छ । होमस्टेका प्रमुख कृष्ण चौधरीका अनुसार, चुरे क्षेत्रमा हाइकिङको व्यवस्था भएकाले पनि यो निकुञ्ज पर्यटकको रोजाइँमा पर्ने विश्वास गरिएको छ ।
बाँकेमा भ्रमण वर्षको गतिविधि शून्यजस्तै भएरै अहिले होटल व्यवसायी मात्र होइन, स्थानीय निकाय पनि पर्यटक भित्र्याउने दौड र योजनामा लागिपरेका छन् । भ्रमण वर्षलाई दृष्टिगत गरी नेपालगञ्ज उपमहानगरपालिका–२२ र २१ को बीचमा रहेको ‘कान्तिताल’ लाई पर्यटकीय स्थलका रुपमा निर्माण गर्नका लागि धमाधम काम अगाडि बढाइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट तालको पुनःनिर्माण भइरहेको नगर प्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । विगतमा यो ताल पुरैना, पुरैनी तालको नामले चिनिन्थ्यो । नेपालगञ्जदेखि साढे दुई किलोमिटर पूर्व राप्ती सडकको किनारमा पर्ने २५ बिघा क्षेत्रफलमा पैmलिएको छ ।
कान्तिताल एउटा प्राकृतिक ताल हो । यो तालको पानी पहिला खेती सिँचाइका लागि प्रयोग गरिन्थ्यो । २०३९ देखि २०७२ सम्म ताललाई माछापालन गर्न ठेक्कामा दिने गरिएको थियो । अहिले आएर नेपालगञ्ज उपमहानगरपालिकाले पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना अगाडि बढाएको हो ।
यसैगरी, नेपालगञ्जको ऐतिहासिक रानीतलाउ अहिले आएर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ । डेढ दशक अघिसम्म जीर्ण अवस्थामा रहेको नेपालगञ्ज वडा नं ८ स्थित प्रसिद्ध ऐतिहासिक रानी तलाउको नेपालगञ्ज उपमहानगरपालिकाले पुनःनिर्माण गरेपछि नौका विहार गर्ने र रमणीय पार्कको अवलोकन गर्नेको सङ्ख्या बढ्दै गएको छ ।
नगर प्रमुख डा धवलशम्शेर राणाले स्थानीय तहको गठन भएपछि ऐतिहासिक रानीतलाउलाई पर्यटकीयरुपमा विकसित गर्दै लगिएको बताउनुभयो । पार्क अवलोकनका लागि पश्चिम नेपालका जिल्लाका साथै भारतीय सीमावर्ती क्षेत्रका नागरिकसमेत आउने गरेका छन् । नेपालगञ्जकै अर्को ऐतिहासिक महेन्द्र पार्क पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ । यो पार्कलाई ‘मिनी जू’ को पनि नाम दिइएको छ । पार्कमा मयुर, खरायो, जरायो, अष्ट्रिचलगायत विभिन्न थरीका चरा रहेका छन् ।
सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाइने निर्णय गरेअनुरुप सोहीअनुसार नेपालगञ्ज उपमहानगरपालिकाले पनि यहाका पर्यटकीयस्थललाई आकर्षक बनाउने अभियान नै सञ्चालन गरेको नगर प्रमुख राणाले बताउनुभयो । उहाँका अनुसार, नेपालगञ्जको यी दुई पार्कका साथै ऐतिहासिक शक्तिपीठ बागेश्वरी मन्दिरको विस्तार, नेपालगञ्जकै कान्तिताल र वाटरपार्कको निर्माण धमाधम भइरहेको छ । यसका साथै नेपालगञ्ज फोहरमुक्त बनाउन प्लाष्टिकजन्य वस्तुको व्यवस्थापनलाई पनि नगरपालिकाले आप्mनो कार्यक्रममा समेटेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका जस्तै यहाका आठवटै पालिकाले पनि भ्रमण वर्षमा आआफ्नो क्षेत्रमा पर्यटक भित्र्याउन योजनाअनुसार कार्यक्रम तय गरेका छन् । “हामीले राप्तीसोनारी गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल भुँवरभवानीमा पर्यटकको पहुँच बढाउन सबैखाले संयन्त्र प्रयोग गरेका छौँ”, सो गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले भन्नुभयो ।