५ जेष्ठ २०८१, शनिबार

पर्यटकीय स्थल बन्दै कान्तिताल


कान्तिताल

११ पुस, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ र २१ को बीचमा रहेको ‘कान्तिताल’ लाई पर्यटकीय स्थलका रूपमा पुनःनिर्माण गरिँदैछ । कान्तिताल पहिले पुरैना वा पुरैनी तालको नामले चिनिन्थ्यो । उपमहानगरले पर्यटकीयस्थलका रूपमा यसको विकास गर्ने भएपछि नाम परिवर्तन गरेर कान्तिताल राखिएको हो ।

उपमहानगरपालिकाको करिब रु नौ करोड ५० लाखको लागतमा डेढ वर्षमा काम सक्ने गरी ताल पुनःनिर्माणको काम शुरु गरिएको नगरप्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । कान्तिताल नेपालगञ्जको धम्बोझी चोकदेखि साढे दुई किलोमिटर पूर्व राप्ती सडकको किनारमा पर्छ । करिब २५ बिघा क्षेत्रफल रहेको ताल वडा नम्बर २२ पुरैनीमा १७ बिघा र वडा नम्बर २१ पुरैनामा आठ बिघा क्षेत्रफलमा पैmलिएको छ ।

कान्तिताल एउटा प्राकृतिक ताल हो । यो ताललाई पहिला खेती सिँचाइका लागि प्रयोग गरिन्थ्यो । विसं २०३९ देखि २०७२ सम्म ताललाई माछापालन गर्न ठेक्कामा दिने गरिएको थियो । अहिले आएर उपमहानगरपालिकाले पर्यटकीयस्थलको रूपमा विकास गर्ने योजना अगाडि बढाएको हो ।

“विसं २०३९ अगाडि ताल क्षेत्र हात्तीको वासस्थानका रूपमा थियो, ताल क्षेत्रमा विभिन्न थरीका चराचुरुङ्गी आउने गर्दथे, घाँसैघाँसले तालमा ढाकेको थियो”, तालको विगत सम्झँदै वडा नम्बर २२ का अध्यक्ष विद्याराम बर्मा भन्नुहुन्छ, “अहिले पर्यटकीय गन्तव्यका रूपमा तालको पुनःनिर्माण हुन थालेपछि यसले वडाको सौन्दर्य पनि बढाउनेछ ।” (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !