३१ भाद्र २०८१, सोमबार

पटिहानीमा पर्यटक प्रहरी


Nepalpatra

चितवन, ४ जेठ । सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक पटिहानीमा पर्यटन प्रहरी परिचालन गरिने भएको छ । भरतपुर महानगरपालिका–२२ वडा कार्यालयको पुरानो कार्यालय रहेको स्थानमा पर्यटन प्रहरी कार्यालय राख्न लागिएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले यही जेठ १० गते उक्त कार्यालय शुभारम्भ गरिने बताउनुभयो । उहाँले पर्यटन प्रहरी रहेसँगै आन्तरिक र बाह्य पर्यटकले सुरक्षित महसुस गर्ने र यसबाट पर्यटकको सङ्ख्या बृद्धि हुने अपेक्षा गरिएको जानकारी दिनुभयो ।

वडा नं २२ का अध्यक्ष विष्णुराज महत्तोले प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छ प्रहरी रहने बताउनुभयो । पश्चिम चितवनको यस क्षेक्रमा अहिले तीन वटा तीन तारे होटल सञ्चालनको त्रममा रहेका, पाँच वटा ठूलो होटल सञ्चालन भइरहेका र साना दुई दर्जनको हाराहारीमा होटल रहेको उहाँले जानकारी दिनुभयो । ती होटलमा ५०० को क्षमता रहेको छ ।

अहिले यस क्षेत्रमा आउने पर्यटकको सङ्ख्यामा अघिल्ला वर्षको तुलनामा २५ प्रतिशले वृद्धि भएको पर्यटन व्यवसायीले बताएका छन् । पर्यटन व्यवसायी गणेश पौडेलका अनुसार अहिले पर्यटकको चाप बढ्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकै रहेको पटिहानी दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तु अवलोकनका लागि उत्तम स्थान रहेको उहाँले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !