३१ भाद्र २०८१, सोमबार

महिला पर्यटन व्यवसायी हाइकिङतर्फ


शान्तिदीप

२० माघ, चिप्लेढुङ्गा । पोखराको पर्यटन क्षेत्रमा सक्रिय महिलाले पर्यटन प्रवद्र्धनका लागि हाइकिङ(लामो एकदिने पदयात्रा) गरेका छन् । शनिबार महिला पर्यटन व्यवसायी मञ्चद्वारा आयोजित पर्यटन प्रवद्र्घनात्मक पदयात्रा कृस्ती–शिवढुङ्गा–देउराली गैरा–कृस्ती कालिका मन्दिर–मट्टीखान भ्यूटावर– माउण्टेन रिसोर्ट–छोरेपाटनसम्म हाइकिङ गरेर सम्पन्न भएको छ ।

सुन्दर नगरी पोखरा र आसपासका रमणीयस्थल र ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले हाइकिङ कार्यक्रम गरिएको मञ्चका अध्यक्ष जमुना पराजुलीले जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्डको सहयोगमा भएको सो कार्यक्रममा बोर्ड पोखराका प्रमुख मणिराज लाछिछानेको पनि सहभागिता थियो । उहाँले पर्यटन क्षेत्रमा महिलाको योगदान महत्वपूर्ण छ भन्दै यस्ता कार्यक्रमले यस क्षेत्रको विकासमा अझै टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष २०१९ मनाउन लागेका सन्दर्भमा पर्यटकीयस्थलको खोजी र प्रवद्र्धनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले आन्तरिक भ्रमण वर्ष २०१९ तथा नेपाल भ्रमण वर्ष २०२० सफल पार्न यस्ता कार्यक्रमले नयाँ गन्तव्यको खोजी गर्न सघाउ पु¥याउने धारणा राख्नुभयो ।

सधैँ व्यवसाय र घरधन्दामा व्यस्त व्यवसायी महिला निकै उत्साहजनक रुपमा हाइकिङमा सहभागी भएको संस्थाका उपाध्यक्ष पार्वती पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “पोखराको सुन्दरता पोखराभित्र मात्रै होइन आसपासमा पनि उत्तिकै छ । आजको चारघण्टे यात्राले प्रकृतिसँग रमाएर पदयात्रा पर्यटनको महत्व बुझ्ने अवसर मिल्यो ।”

संस्थाका झण्डै ९० सदस्यको सहभागिता रहेको सो कार्यक्रममा बोर्डका प्रमुखलगायत विभिन्न पर्यटन सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको मञ्चका सचिव उमा भण्डारीले जानकारी दिनुभयो । पोखरा महानगरपालिका वडा नं २१ को कृस्तिबाट शुरु गरिएको पदयात्रा मट्टीखान भ्युटावरबाट पोखरालगायत पोखराका आसपासका पर्यटकीय ठाउँ, हिमाल, जंगल तथा रमाइला गाउँको अवलोकनसँगै छोरेपाटनमा पुगेर समापन भएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !