१६ आश्विन २०८१, बुधबार

बागलुङका पर्यटकीय क्षेत्र सुनसान


ढोरपाटन

ढोरपाटन, बागलुङ । बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बनेका छन् । बर्खाका कारण ठाउँ–ठाउँमा बाढी पहिरोले सडक अवरुद्ध हुँदा दुई महिनादेखि यहाँका पर्यटकीय क्षेत्र सुनसान बनेका हुन् ।

बराह ताल, बेलढुङ्गा, गाजाको दह, घुम्टे, दिदीबहिनी झरना, सोलेडाँडालगायत दर्जनौँ पर्यटकीय क्षेत्र सुनासन छन् । धेरै पर्यटक पुग्ने ढोरपाटन बराह मन्दिर र सिकार आरक्ष क्षेत्रमा पनि यो बेला पर्यटकको सङ्ख्या निकै कम भएको छ । गत वर्ष यो बेला पर्यटकीयस्थलमा चहलपहल बढ्न थालेको थियो । अहिले वर्षा नरोकिएको हुँदा सडक खुल्न सकेका छैनन् । सडक खुल्न नसक्दा घरबास ९होम–स्टे० पनि सञ्चालन हुन सकेका छैनन् ।

घरबासमा पाहुन पुग्न नसक्दा स्थानीय उत्पादनले बजारसमेत पाउन सकेका छैनन् । जिल्ला सदरमुकाम बागलुङबजार नजिकै रहेको कालिका मन्दिर, पञ्चकोट र शालग्राम सङ्ग्रहालयमा पनि पर्यटकको सङ्ख्या घटेको छ । यस वर्ष लामो झरीले गर्दा आधा असोज बितिसक्दा पनि सडक खुल्न सकेका छैनन् ।

गत वर्ष यति बेला सोलेडाँडामा पर्यटकको चहलपहल बढेको भए पनि अहिले सुनासन रहेको तमानखोला गाउँपालिका–३ का पूर्ण बुढा मगरले बताए । असोज लागिसक्दा पनि वर्षा नरोकिँदा सडक खुलाउन नसकेको उनको भनाइ छ । सडक बन्द हुँदा घुम्न आएका पर्यटक बीच बाटोबाटै फकिर्ने गरेको बुढा मगर बताउँछन् ।

बुढा मगरले भने, “असोजको पहिलो सातातिर वर्षा रोकिएको थियो, अहिले फेरि वर्षा हुन थालेको छ, बर्खाले गर्दा बाटो धेरै ठाउँ बिग्रिएको छ, पर्यटक सजिलै घुम्ने ठाउँमा पुग्न सकेका छैनन्, सोलडाँडामा यो बेला पोहोर परार साल निकै धेरै मान्छे आउँथे, तर अहिले आएका छैनन्, आएकाहरु पहिरोले सडक पुरिएपछि फर्किएर जान्छन्, अब कात्तिक लागेपछि मात्रै बाटो खुल्छ होला, त्यसपछि बल्ल पर्यटकको लर्को लाग्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !