३१ भाद्र २०८१, सोमबार

बाटुलेचौरमा पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण गरिँदै


बाटुलेचौर

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित धार्मिक एवं पर्यटकीयस्थल बाटुलेचौरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वाधार थप गरिएको छ ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका साथै भक्तजनको आकर्षणको केन्द्र बन्दै गएको बाटुलेचौरमा गत आर्थिक वर्षमा सङ्घीय प्रदेश र स्थानीय सरकारको सहयोगमा पूर्वाधार थप गरिएको हो ।

कालीका भगवती मन्दिर र शिवको विशाल मूर्ति रहेको बाटुलेचौरमा आउने धार्मिक पर्यटकको सहजताका साथै मन्दिर परिसरलाई थप आकर्षक बनाउन पूर्वाधार निर्माण गरिएको मन्दिर क्षेत्र विकास संस्थाका अध्यक्ष गणेश पौडेलले जानकारी दिए । उनका अनुसार मन्दिर परिसरमा बरपीपलका चौतारी निर्माण गरिएका छन् ।

बरपीपलका चौतारी समुदायको साझेदारीमा निर्माण गरिएको बताउँदै पौडेलले बरपिपल रोप्न चाहनेले प्रतिव्यक्ति वा परिवार रु १० हजार बराबरका चौतारी निर्माण गरेका छन् । मन्दिर परिसरमा एक सय २४ वटा चौतारी रहेको उनले बताए । “शनित्रयोदशीमा एक सय आठ पीपल चौतारी घुम्न र पूजा गर्न स्थानीय र छिमेकी जिल्लाबाट दर्शनार्थीहरु आउने गर्दछन्”, उनले भने ।

मन्दिर परिसरमा सत्तल, दर्शन गर्न आउने ज्येष्ठ नागरिकका लागि ज्येष्ठ नागरिक दिवा केन्द्र निर्माण गरिएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत रु ९९ लाखको लागतमा भवन निर्माण गरिएको पौडेलले जानकारी दिए । पूर्वाधार निर्माण गर्न गण्डकी प्रदेश सरकारबाट रु २५ लाख, कुश्मा नगरपालिकाबाट रु १० लाख विनियोजन भएको थियो ।

चालु आर्थिक वर्षमा पनि रु २० लाख विनियोजन भएको अध्यक्ष पौडेलले उल्लेख गरे । उनका अनुसार भगवान् शिवको अग्लो मुर्ति, मन्दिर प्रवेश गर्ने पूर्व र पश्चिमतर्फ आकर्षक प्रवेशद्वार, पीपल चौतारी हुँदै प्रवेशद्वारसम्म पदमार्ग, मन्दिरसम्म पुग्न पक्की सडकलगायत पूर्वाधार निर्माण गरिएको छ ।

सदरमुकाम कुश्मा बजारबाट १२ किलोमिटरको दूरीमा रहेको यो मन्दिरमा पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटक घुम्ने तथा विभिन्न म्युजिक भिडियो र वृत्तचित्र छायाङ्कन गर्ने स्थलका रुपमा परिचत हुँदै गएको अध्यक्ष पौडेलले बताए ।

बाटुलेचौर पछिल्लो समय धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएकाले पर्यटन प्रवर्द्धन र स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले मन्दिर आसपास घरबार र होटल सञ्चालनमा ल्याइएको स्थानीय युगनाथ पौडेलले बताए ।

राजा दशरथले आफ्ना भाञ्जा श्रवण कुमारको हत्या गरेको पाप मोचन गर्न बाटुलेचौरमा आएर अश्वमेध यज्ञ गरेको र सोही समयदेखि यहाँ पूजाआजागरी मन्दिर निर्माण गरिएको किंवदन्ती रहेको उहाँले जानकारी दिए ।

स्थानीय पौडेलका अनुसार संरक्षण अभावमा यहाँका विभिन्न पुरातात्विक समान विभिन्न समयमा हराइसकेका छन् । मन्दिर रहेको स्थानमा करिब दुई सय वर्ष पुराना संरचना भए विसं १९७० मा स्थानीय पण्डित कृतिनाथ उपाध्यायले मन्दिर निर्माण गरेपछि नियमित पूजा हुँदै आएको जानकारहरुले बताउने गरेका उनले उल्लेख गरे ।

छिमेकी जिल्ला बागलुङको बागलुङ कालिका मन्दिर जस्तै प्रसिद्धि कमाएको बाटुलेचौरमा टाढाटाढाबाट दर्शनार्थीहरु पूजापाठका लागि आउने गर्दछन् । यहाँ बडादसैँ, चैत्राष्टमी, बालाचतुर्दशी, शिवरात्रिलगायत चाडपर्वमा मेला लाग्ने गर्दछ ।

मेला भर्नका लागि पर्वतको कुश्मा र फलेबास नगरपालिका, मोदी गाउँपालिका र छिमेकी जिल्ला स्याङ्जाका दर्शनार्थी आउने गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यहाँबाट पर्वतको सदरमुकाम कुश्मा, बागलुङ, म्याग्दी र स्याङ्जाका विभिन्न स्थानका साथै अन्नपुर्ण, धौलागिरि, माछापुच्छ्रे लगायत हिमशृङ्खला स्पष्ट दृश्यावलोकन गर्न सकिने उनले बताए ।

यसैबीच बाटुलेचौरको प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले यस वर्षको हरितालिका तीजको अवसरमा ‘दोस्रो बाटुलेचौर तीज मेला’ आयोजना गरिएको छ । यही भदौ २१ गते तीजको अवसरमा बाटुलेचौर कालीका भगवती मन्दिर क्षेत्र विकास संस्था र स्थानीय ठूलीपोखरी वडा कार्यालयको संयुक्त आयोजनामा तीज मेला आयोजना गर्न लागिएको हो ।

मेलामा मौलिक तीज गीत प्रतियोगिता, विद्यालय तथा खुला नृत्य प्रतियोगिताका साथै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति राखिएको आयोजकले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !