१५ असार २०८१, शनिबार

होटल सङ्घले चीनमा ‘नेपाल प्रवर्द्धनात्मक’ कार्यक्रम गर्दै


होटल व्यवसायी महासङ्घ

काठमाडौँ । चिनियाँ पर्यटक भित्र्याउने उद्देश्यका साथ होटल सङ्घ नेपालले चीनका विभिन्न सहरमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।

चिनियाँ पर्यटक भित्र्याउने, नेपाली र चिनियाँ पर्यटन व्यवसायीबीच सम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ यही जेठ १९ देखि २५ गतेसम्म बेइजिङ र छेन्दुमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्न लागिएको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष विनायक शाहले चीनबाट बढीभन्दा बढी पर्यटक नेपालमा भित्र्याउने र उनीहरुलाई यहाँ आउन आकर्षित गर्ने लक्ष्यका साथ चीनमा पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्न लागिएको बताए । उनका अनुसार चीनको बेइजिङमा जेठ २०, २१ र २२ गते तथा छेन्दुमा जेठ २३, २४ र २५ गते कार्यक्रम गरिनेछ ।

“कोभिडपछि हामीले पर्यटन प्रवर्द्धन पनि गरेका छैनौँ, त्यसैले नेपाल भ्रमण प्याकेज कार्यक्रमसहित भ्रमणका लागि अग्रिम समय लिने (बुक) गर्ने उद्देश्यले चीन जादैँछौँ”, अध्यक्ष शाहले भने ।

उनका अनुसार नेपाल ‘डेष्टिनेसन वेडिङ’का रुपमा भारत र चीनको रोजाइमा पर्ने गरेको छ । ‘नेपालमा पर्यटन भित्र्याउन हामी सबै हिसाबले तयारी छौँ’ भन्ने सन्देश दिनका लागि प्रवर्द्धनात्मक कार्यक्रम गर्न लागिएको शाहको भनाइ छ ।

कोभिड–१९ महामारीपछि पहिलो पटक हुन लागेको यस कार्यक्रमको होटल सङ्घ नेपालका अध्यक्ष शाहको नेतृत्वमा सातै प्रदेशका ७५ सदस्य होटल सम्मिलित नेपाली प्रतिनिधिमण्डल भोलि चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

कोभिडपछि चिनियाँ पर्यटकको नेपाल भ्रमणमा उल्लेख्य वृद्धि हुँदै आएको अध्यक्ष शाहले बताए । नेपाली प्रतिनिधिमण्डलले ‘चिनियाँ ट्राभल तथा टूर अपरेटर’सँग ‘बीटूबी मिटिङ’ गर्ने भन्दै उहाँले प्रवर्द्धनात्मक कार्यक्रमबाट चिनियाँ पर्यटक नेपालमा बढाउन प्रत्यक्ष योगदान पुग्ने अपेक्षा गरिएको बताए ।

बेइजिङ र छेन्दुमा होटल सङ्घ नेपाल र समकक्षी चाइना होटल सङ्घ तथा आर्थिक तथा पर्यटन गतिविधिसँग संलग्न सङ्घसंस्थाबीच तालिम, प्रशिक्षणका साथै दुई पक्षीय पर्यटन प्रवर्द्धनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको अध्यक्ष शाहले जानकारी दिए । दुई देशबीचको सम्बन्धलाई पथ प्रगाढ तुल्याउन मद्दत गर्ने विश्वास लिइएको छ ।

चीनबाट बढीभन्दा बढी हवाई सम्र्पक सञ्जाल अभिवृद्धिका लागि पनि पहल गरिने अध्यक्ष शाहको भनाइ छ । उनका अनुसार पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारीरुपमा सञ्चनल गर्न पहल गरिने योजना छ ।

उक्त कार्यक्रमको समन्वय बेइजिङस्थित नेपाली राजदूतावास तथा छेन्दुस्थित महावाणिज्यदूतको कार्यालयले गर्ने होटल सङ्घका प्रवक्ता साजन शाक्यले बताए । उनका अनुसार नेपालको पर्यटनसम्बन्धी प्रस्तुतिकरण पर्यटन बोर्डबाट हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !