१२ पुस २०८१, शुक्रबार

९३ वर्षीय काठमाडौँंका वृद्ध स्नान गर्न पुगे गोसाइँकुण्ड


शिवराज अर्याल

रसुवा । गोसाइँकुण्ड यात्राका लागि हेलिकोप्टर कम्पनीले उडान भर्न थालेपछि तिर्थालुलाई त्यहाँ पुग्न सहज भएको छ । अहिले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमार्फत पवित्र तीर्थस्थल गोसाइँकुण्ड सहजै पुग्न सकिन्छ ।

हेलिकोप्टरको सुविधाकै कारण धादिङ नलाङ घर भई हाल काठमाडौँं सीतापाइला बस्दै आएका शिवराज अर्याल ९३ वर्षको उमेरमा पहिलो पटक गोसाइँकुण्ड पुग्न पाएका हुन् । हेलिकोप्टरमार्फत आज विहान गोसाइँकुण्ड पुगेका उनले स्नान एवं पूजाआरधना गरे ।

वृद्ध अवस्थामा हिँडेर जानसक्ने अवस्था नहुँदा उनी चार्टर्ड हेलिकोप्टरमार्फत छोरा निमनाथ, बुहारी अम्बिका, नाति सुदीप र छोरी सरस्वती सापकोटासहित गोसाइँकुण्ड पुगेका हुन् ।

काठमाडौँबाट १४ हजार एक सय फिटको उचाइ हुँदै २५ मिनेटमा हेलिकोप्टरमार्फत अर्याल गोसाइँकुण्ड पुग्दा उहाँलाई लेकलाग्ने जस्ता कुनै समस्या नभएको वरिष्ठ क्याप्टेन आनन्द थापाले बताए ।

वयोवृद्व तीर्थयात्रु अर्यालले गोसाइँकुण्डमा स्नान र पूजाआजा गरेकोमा खुसी व्यक्त गर्दै सकेसम्म तीन पटक र सम्भव नभए कम्तीमा एक पटक गोसाइँकुण्ड पुग्न अरुलाई सुझाव समेत दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !