११ बैशाख २०८१, मंगलबार

पर्यटन क्षेत्रको उत्थानका लागि कार्यक्रम ल्याउँदैछौँ : मन्त्री भट्टराई


योगेशकुमार भट्टराई

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि पुनरोत्थानका कार्यक्रम ल्याउने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पर्यटकीय क्षेत्रको विकासका लागि सरकारले सन् २०२१ लाई आन्तरिक पर्यटनमा केन्द्रित कार्यक्रम ल्याउने बताउनुभयो ।

कोरोनाका कारण नेपालमा मात्रै नभएर विश्वभरको पर्यटन व्यवसायमा प्रभाव परेको उल्लेख गर्दै मन्त्री भट्टराईले भन्नुभयो, “अहिले नेपालको मात्र नभएर विश्वभरि नै कोरोनाका कारण पर्यटन क्षेत्रमा असर गरेको छ, यसलाई उकास्नका लागि सरकारले आन्तरिक तथा बाह्य उडान खोल्न शुरु गरेको छ ।”

अहिले ४० प्रतिशत आन्तरिक उडान शुरु भइसकेको उहाँको भनाइ थियो । सन् २०२१ मा आन्तरिक पर्यटन प्रबद्र्धनका लागि काम भइरहेको उहाँले जानकारी दिनुभयो । “यस क्षेत्रको विकासका लागि सरकारले प्याकेज घोषणा गरेको छ”, उहाँले भन्नुभयो । प्याकेजका लागि राष्ट्र बैंकले मापदण्ड बनाउने काम गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “राष्ट्र बैंकले बनाएको मापदण्डअनुसार पर्यटन व्यवसायीले पुनर्कर्जा लिन सक्नेछन् ।”

फरक प्रसङ्गमा बोल्दै उहाँले पार्टी विभाजन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “काङ्ग्रेस र नेकपासहितका दलसमेत मिलेर जानुपर्ने समयमा पार्टी विभाजन हुनु हुँदैन ।” पार्टीभित्र सबैको सम्मानजनक सहभागिताबाट पार्टी विभाजन रोकिने उल्लेख गर्दै उहाँले आफूहरुले पार्टीलाई मिलाएर लैजानका लागि नेतृत्वलाई आग्रह गरिरहेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !