६ मंसिर २०८१, बिहीबार

अब यसरी गर्नुस् सुरक्षित हवाईयात्रा…


हवाईयात्रा

काठमाडौँ, १ साउन । बन्दाबन्दीका कारण झण्डै चार महिनादेखि व्यावसायिक उडान ठप्प रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै व्यावसायिक उडान कहिले खुल्छ भन्ने यकिन छैन । विमानस्थलको आन्तरिकतर्फ दैनिक ३०० भन्दा बढी उडान हुने नेपाली आकाश अहिले प्रायः खाली छ । केही चार्टर्ड उडानबाहेक अहिले विभिन्न वायुसेवा कम्पनीका ४५ भन्दा बढी जहाज ग्राउण्डेड छन् । तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्य मुलुकको अभ्यासलाई हेरेर उडान सञ्चालन गर्ने गरी आवश्यक तयारी गरिरहेको बुझिएको छ ।

कोभिड–१९ सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ देखि देशभर बन्दाबन्दी लागू गरेको थियो । चैत ९ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान स्थगन गरिएको थियो । पछिल्लोपटक यही साउन ६ गते मध्यरातसम्मलाई उडान रोक लगाउने निर्णय भएको छ । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि अहिले चार्टर्ड उडान मात्र भइरहेको छ । जेहोस् कोभिड–१९ महामारीका बीच सुरक्षित उडान गर्ने गरी सरकारले आवश्यक तयारी गरिरहेको छ । यता एयरलाइन्सले पनि कोभिड महामारीपछि हुने व्यावसायिक उडानलाई मध्यनजर गरी आवश्यक तयारी गरेका छन् ।

आन्तरिक उडानमा दैनिक करिब छ हजार यात्रु आवतजावत गर्ने देशकै अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सुरक्षित व्यावसायिक उडानको आवश्यक सबै तयारी पूरा गरेको जनाएको छ । कम्पनीका तर्फबाट कोभिड महामारीबाट सुरक्षित रहेर हवाईयात्राका लागि सम्पूर्ण तयारी पूरा गरेको बुद्ध एयरले यात्रुले पनि आवश्यक सुरक्षा सतर्कता अपनाइदिए सुरक्षित यात्राको सुनिश्चितता हुने अपेक्षा गरेको छ ।

बुद्ध एयरका क्वालिटी एस्युरेन्स डिपार्टमेन्ट प्रमुख उपेन्द्रलाल श्रेष्ठले उडान सञ्चालनमा आउँदा अधिकतम स्वास्थ्य सुरक्षा मापदण्ड कसरी अपनाउने र यात्रुलाई परिपालना गराउने भन्नेबारे आवश्यक तयारी गरिएको बताउनुभयो । उहाँले प्राधिकरणको कार्यविधिका साथै विश्व स्वास्थ्य सङ्गठन र आयोटाको मार्गनिर्देशनका अलावा जहाज निर्माता कम्पनीको मापदण्डका आधारमा ‘स्टान्डर अपरेटिङ प्रोसिउर’ बनाइएको जानकारी दिनुभयो । यो मापदण्ड विमानका कर्मचारी तथा यात्रुलाई लागू हुनेछ । त्यसैका आधारमा विभिन्न तालिम, पिपिइ, केमिकल, सानातिना उपकरणको जोहो गरिसकिएको कम्पनीले उल्लेख गरेको छ । कम्पनीले गत जुन ११ र २५ मा अभ्यास उडान ‘डेमो’ उडान गरेको छ । अहिले पनि कम्पनीले सानो–सानो समूह बनाएर अभ्यास उडान गरिरहेको छ ।

“स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर हामी सञ्चालनको लागि पूर्ण तयारीको अवस्थामा छौँ, यात्रुहरुले समन्वय र सहकार्य गरिदिएको खण्डमा कोभिड महामारीबाट सुरक्षित हुन्छौँ, त्यसैले कम्पनीको गाइडलाइन्स पालना गरिदिनुहोला”, श्रेष्ठले भन्नुभयो । अबको उडान पहिलाको भन्दा विल्कुलै फरक तारिकाको हुनेछ । हिजो एक घण्टा पहिला एयरपोर्ट पुग्नुपर्ने थियो भने अब डेढ घण्टाअघि नै जानुपर्छ । यात्रुले सामाजिक दूरीमा बसेर भीडभाड नगरी स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने हुन्छ । अबको उडानमा यात्रुले ‘एयरपोर्ट अथोरिटी’ ले बनाएको ‘हेल्थ डिक्लिरेशन’ फारम र ‘प्यासेन्जर लोकेटर कार्ड’ भर्नुपर्नेछ । कम्पनीले यात्रुको सुरक्षाका लागि मास्क र फेससिल्डको व्यवस्था गरेको छ ।

कम्पनीले जहाजलाई तयारी अवस्थामा राख्न हरेक १४ दिनमा एक दिन करिब २० मिनेट जहाजको परीक्षण उडान गर्ने गरेको छ । सातामा एक दिन इन्जिन ‘रनअफ’ गरिरहेको छ । प्राविधिक हिसाबले पनि तमतयारी अवस्थामा रहेको कम्पनीले यात्रुलाई शिक्षित गर्ने डेमो उडानको भिडियो वेवसाइटमा राखेको छ । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले सुरक्षा प्रोटोकल बनाएर सुरक्षित उडानको तयारी गरिएको जानकारी दिँदै यात्रुलाई सुरक्षा सजकता अपनाउन आग्रह गर्नुभयो । फरक तरिकाले उडान गर्नुपर्ने भएकाले यात्रुलाई सुसूचित गराउनुपर्ने अनिवार्यता रहेको उहाँले बताउनुभयो ।

सरकारले उडान खोलिदिएको खण्डमा प्रोटोकल पालना गर्न हवाई कम्पनी तयार रहेको उहाँको भनाइ छ । निजी क्षेत्रका बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले आन्तरिक उडानमा अपनाइने सुरक्षा मापदण्डका साथ उडानको तयारी गरेको जनाइएको छ । कोभिड महामारीबाट कसरी जोगिएर सुरक्षित हवाईयात्रा गर्न सकिन्छ भनेर बुद्धले गत असार ११ गते एटिआर–७२ जहाजमा ‘डेमो’ उडान गरेको थियो । यात्रु तथा विमानका कर्मचारीको ‘कन्फिडेन्ट’ का लागि कोभिडबाट सुरक्षित हुने उपायबारे अभ्यास गरिएको थियो । आन्तरिक उडानका यात्रुले पहिलाजस्तो ‘स्न्याक्स’ पाउँदैनन् ।

यात्रुले शुरुमा टर्मिनल भवन छिर्नासात सामाजिक दूरी कायम गर्न बनाइएको घेराभित्र उभिएर लाइन बसी ज्वरो नाप्छन् । त्यसपछि सुरक्षापासको प्रक्रिया सकिन्छ । भित्र टिकट काउन्टरमा पनि सामाजिक दूरीका साथ बोडरिङ पास दिइन्छ । त्यहाँ काउन्टरका कर्मचारीले यात्रुलाई फारम भराउँछन् र मुहारसहितको परिचयपत्र मोबाइलबाट खिच्छन् अनि त्यसलाई कम्प्युटराइज गर्छन् ।

कोभिड–१९ को महामारीबाट सुरक्षित रहनको लागि हवाईयात्रा अवधिभर मास्क र फेससिल्ड लगाउनुपर्नेछ । अति आवश्यक भए मात्र शौचालयको प्रयोग गर्न र पानीको वितरण पनि अति आवश्यक परेको खण्डमा मात्र उपयोग गरिदिन अनुरोध गरेको छ । बुद्धले अहिले एटीआर–७२, ११ सहित १३ जहाजमार्फत उडान सेवा दिइरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !