१० श्रावण २०८१, बिहिबार

विचार : सन्दर्भ बिपी स्मृति दिवस


बिपी कोइराला

काठमाडौँ । जननायक महामानव आदि विशेषण र कार्यकर्ताहरुले सान्दाजु शब्दद्वारा पनि पुकारिने नेपाली कांग्रेसका स्थापक नेता बिपी कोइराला कांग्रेसका मात्र नभएर समग्र लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष हुनुहुन्थ्यो । नेपालका राष्ट्रिय राजनीतिमा उहाँभन्दा लोकप्रिय तथा अग्लो व्यक्तित्व आजसम्म अरु देखिएको छैन । उहाँलाई मूर्धन्य नेताहरुले पनि आफ्नो नेता मान्ने गर्दथे । जुन उच्च मान्यता आजतक कायमै छ । नेपालको राजनीतिमा सबैभन्दा धेरै शब्द खर्चिएका र अन्तर्राष्ट्रिय राजनेताका रुपमा उहाँको नाम आउँछ । चीनमा राष्ट्रिय स्वाधीनता तथा एकता जनतन्त्र र समाजवादको लागि डा सनयात सेनको र भारतमा सर्वोदय नेता जयप्रकाश नारायणको जुन राजनीतिक स्थान छ, बिपीत्यही स्तरको नेता हुनुहुन्थ्यो ।

विश्वेश्वरप्रसाद राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भएको थियो । उहाँ भारतीय स्वतन्त्रता संग्राममा पनि सेनानी हुनुहुन्थ्यो । भारतबाट बृटिस शासन नहटेसम्म नेपालमा उसद्वारा पालित पोषित राणा शासन ढल्न र प्रजातन्त्रको नयाँ युग आउन कठिन हुने हुँदा भारतीय स्वतन्त्रता संग्रामलाई नेपालमा लोकतन्त्र स्थापनाको आधार मान्नुभएको थियो । उहाँले आफ्ना पिता कृष्णप्रसाद कोइरालाको जेलमै निधन हुँदा उहाँ भारतको हजारीबाग जेलमा राजबन्दी हुनुहुन्थ्यो । आन्दोलनमा लागेकै कारण विश्वेश्वरप्रसाद र उहाँका दाजु मातृकाप्रसाद कोइरालालाई विसं १९८६ मा तीन महिनासम्म बेलायती सरकारले कैद गरेको थियो । यसपछि नै उहाँको राजनीतिक जीवनको सुरुवात भएको थियो । भारतीय राजनीति र समाजमा पनि समाजमा पनि उहाँको गाढा प्रभाव थियो । भारत प्रवासमा रहेकै बेला भारतको परिवर्तन देखेर उहाँले नेपालमा पनि परिवर्तन ल्याउने प्रयास गर्नुभयो । विसं २००३ मा उहाँले भारतबाट समाजवादी नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्नुभएको थियो भने २००६ सालमा उहाँकै पहलमा नेपाली कांग्रेस पार्टी बनेको थियो ।

विसं २००३ मा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उहाँलाई नेपाल सरकारले एक वर्ष कैद गरेको थियो । सात सालको क्रान्तिमा विश्वेश्वरप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको थियो जसलाई नेपालको प्रजातान्त्रिक आन्दोलन पनि भन्ने भनिन्छ । २००७ सालमा उहाँले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक सङ्घर्ष सुरु गर्नुभएको थियो । सोही वर्ष राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भएको थियो । तात्कालिक समयमा देशमा रहेको जहानीयाँ वा एकतन्त्रीय राणा शासन विरूद्ध सुरू भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो ।

व्यापक अध्ययन, चिन्तन तथा ठोस विश्लेषण व्यवहारमा उदारता तथा निर्णयमा अडान कर्तव्यको पुकारमा ज्यानको बाजी लगाएर भएपनि संघर्षमा होमिने आँट, मानवीय जीवनका साथै जनताका भावना र आवश्यकता बारे तीक्ष्ण तथा सुक्ष्म दृष्टिकोण बनाउन सक्ने कला, दार्शनिक पक्षमा गहिरो ज्ञान, संघर्षले दिएको अनुभवबाट बनेको दुर्धर्ष आत्मबल, अपरिग्रहयुक्त जीवनशैली आदि उहाँको व्यक्तित्वका ज्वलन्त विशेषता थिए । उहाँले दक्षिण एसियाको अवस्थितिमा नेपालकोअस्तित्व, पार्टी र जनताका बीच कार्यकर्ताको भूमिका, जातीय विविधता भएको समाजमा राजनीतिक नेताको भूमिका, मुलुक गरिब तथा शोषित जनसमुदाय भएको अवस्थामा राष्ट्र नै लाभान्वित हुने खालको आर्थिक विकासका लागि राजनीतिक दल र नेताहरुले निर्वाह गर्नुपर्ने भूमिका जस्ता विषयमा उहाँले कार्यकर्ताहरुलाई निरन्तर प्रशिक्षित गरिरहनुभयो । राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई नेपाली कांग्रेसका आधारभूत सिद्धान्तका रुपमा स्थापित गराउने सर्वोच्च सिद्धान्तकार नेता उहाँ नै हुनुहुन्थ्यो ।

सत्तामा उहाँ २००७ सालमा आठ महिना गृहमन्त्री र २०१६ सालमा साढे एक वर्ष प्रधानमन्त्री रहनुभयो । उहाँले बाँकी सम्पूर्ण जीवन लोकतन्त्र प्राप्तिको संघर्षमै लगाउनुभयो । त्यसक्रममा उहाँले राणाशाही बिरुद्ध जेलभित्रैबाट आमरण अनशन गर्नुभयो । विसं २००७ सालको जनक्रान्ति, २०२५ सालपछि २०३३ सालसम्म सशस्त्र आन्दोलनको पनि उहाँले नेतृत्व गर्नुभएको थियो । विसं २०१४ सालको भद्रअवज्ञा आन्दोलन वा २०३६ सालको विद्रोह तथा तत्कालीन राजालाई जनमत संग्रहको घोषणा गर्नुपर्ने परिस्थितिमा पु¥याउने राजनीतिक कार्यमा उहाँको ऐतिहासिक योगदान छ । उहाँ यथास्थितिवादी राजनीतिका एक नेता भएर होइन, राजनीतिको गतिलाई मोड्न सक्ने उहाँलाई तार्किक टुंगो दिनसक्ने र हर राजनीतिक परिस्थितिलाई प्रजातन्त्र अनुकूल बनाउन सक्ने अद्भूत क्षमता र व्यवहार कुशलता भएका अन्तराष्ट्रिय स्तरको राजनेताका रुपमा सुपरिचित हुनुभयो ।

विसं २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलाप तथा एकताको सन्देश बोकेर उहाँ, गणेशमान सिंह, शैलजा आचार्यलगायत नेपाली कांग्रेसको एउटा ठूलै समूह आठ वर्ष लामो निर्वासित जीवन त्यागेर पटनाबाट काठमाडौँ आउनु भयो । त्यसबेला उहाँ र गणेशमाजी माथि आठवटा संगीन आरोपसहितका मुद्धा लगाइएको थियो । एउटै मुद्धामा हार्दा पनि उहाँहरुको ज्यान जान सक्दथ्यो । मुलुकभरि पञ्चहरुबट उहाँहरुलाई फाँसीको सजायको माग राख्दै बक्तत्व प्रकाशित, विन्तीपत्र टक्र्याउने, प्रस्ताव पारित गर्नेजस्ता गतिविधि अनवरत भइरहे । त्यसकारण कांग्रेसका नेताहरुलाई मार्नु पञ्चायती शासकको चरित्र नै थियो ।

पञ्चायती शासनको मुख्याती प्रजातन्त्रको शिविरमा यस कारणले पनि थियो कि त्यसबेला नेपाली कांग्रेसका लोकप्रिय, होनहार तथा प्रभावशाली नेताहरुलाई छानीछानी मार्ने षडयन्त्र बारम्बार भइरह्यो । यसमा योगेन्द्रमान शेरचन, सरोज कोइराला। दिवानसिंह राई, तेजबहादुर अमात्य आदि पर्नुभयो । सिक्किमबाट नेपाल आई झापामा वसोवास गर्दै रहेका एउटा युवालाई तत्कलीन अञ्चलाधीशले रिभोल्भर दिएर निर्वासनमा रहनुभएक बीपीको हत्या गर्न वनारस पठाएके थियो । तर त्यो षडयन्त्रको पर्दाफास भएपछि भारतीय ुिरक्षाकमीलै पक्राउन गरेको उक्त युवालाई वीपीले नै क्षमता दिएर रिहा गरिदिन आग्रह गर्नुभयो र उक्त युवा रिहा भयो । पछि त्यो युवा पत्रकारितातिर लागेको थियो ।

विसं २०३६ मा जनमत संग्रहको सिलसिलामा स्याङ्जा पुग्नुभएका बीपीलाई मार्ने असफल प्रयास भएको थियो । उहाँलाई हानिएको गोली स्याङ्जाकै कांग्रेस कार्यकर्ता तारापति कोइरालाले छेकेर बीपीलाई बचाउनुभयो । बिपीलाई हानिएको गोली तारापतिजीको घुँडामा लागेको थियो । हत्याको प्रयास र फँसीको मागका बीच वीपीले आफूमाथि लागेका सबै मुद्धालाई डटेर सामना गर्नुभयो । यस क्रममा उहाँले अदालतमा दिनुभएको सात घण्टा लामो बयान आज पनि विद्वत समुदायमा चासो र खोजीको विषय भइरहेको छ । त्यसलाई अदालती वयानको अनुभव उदाहरण मानिन्छ । उहाँको स्वदेश आगमनले मुलुकमा यति ठूलो उत्साह र प्रभाव सञ्चार गर्यो कि निर्विकल्प, माटो सुहाउँदो आदि विशेष दिइएको पञ्चायतलाई साढे दुई वर्षभित्रैमा बहुदलको पक्षबाट जनअदालत (जनमत संग्रह) को कठघरामा यभ्याउनुभयो ।

राजनीतिमा बिपी कोइरालाका रुपमा संक्षिप्त नामले चिनिनुहुने उहाँ साहित्यमा पूरा नाम विश्वेश्वरप्रसाद कोइरालाबाट लोकप्रिय हुनुहुन्थ्यो । आफूलाई राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी भन्नुहुने बिपी मनोवैज्ञानिक साहित्य लेखनमा विश्वस्तरीय रचनाकार हुनुहुन्थ्यो । उहाँले उपन्यास, कथा, निबन्धका करिब एक दर्जन कृति लेख्नुभएको छ । साथै, आत्मवृत्तान्त, जेल जर्नल, फुटकर लेख रचनाहरुको संगालो आदि पुस्तकहरु पनि प्रकाशित भएका छन् । नेपाली भाषा साहित्यमामा उहाँले मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गर्नु भएको थियो । राजनीतिक आग्रह वा त्यसका छायाँ र प्रभाव उहाँले साहित्यमा प्रवेश गराउनु भएन ।

उहाँको जन्म भारतको बनारसमा १९७१ भदौ २४ गते भएको थियो थियो । न्वारानको नाम चूडामणि भएपनि विश्वनाथ मन्दिरको तीर्थस्थलमा जन्म भएको हुनाले उहाँको नाम विश्वेश्वरप्रसाद राखियो । एउटै पिताका तीन छोराहरु मातृकाप्रसाद, विश्वश्वरप्रसाद र गिरिजाप्रसाद प्रधानमन्त्री भएको विशेष उदाहरण उहाँको परिवारमा बन्यो । घाँटीमा आएको क्यान्सरका कारण उहाँको आवाज आउन छाडेको थियो । उहाँ सासले मात्र बोल्नुहुन्थ्यो । आफ्नो मृत्यु टाढा छैन भन्ने यकिन भएपछि उहाँले भाइ गिरिजाबाबुलाई एकदिन भन्नुभएछ, “अब म उपचार गरेर बाँच्ने होइन । म स्वदेशमै मर्न चाहन्छु । यहाँबाट(बैंकक) मलाई नेपाल लगिहाल ।”

उहाँकै आग्रहमा २०३९ साउन ६ गते भेन्टिलेटरमा अक्सिजनसहित बेहोस अवस्थामा साँझ ६ बजे काठमाडौँ ल्याइपु¥यायो तर त्यसको एक घण्टा पनि नबित्दै उहाँको निधन भयो । भोलिपल्ट साउन ७ गते उहाँको अन्त्यष्टि विशाल जन समुदायको उपस्थितिमा भएको थियो । प्रजातन्त्रको पुर्नस्थापना भएपछि उहाँका नाममा धरानमा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुरमा क्यान्सर अस्पताल, काठमाडौँका आँखा अस्पताल, बनेपा–सिन्धुली–बर्दिवास राजमार्गको नामकरण गरिएको छ । भारतको पटनामा उहाँको पूर्णकदको शालिक र एउटा सडकको नाम बिपीमार्ग राखिएको छ । आज हामीबीच उहाँ हुनुहुन्न तर उहाँले देखाउनु भएको राजनीतिक दर्शन र सिद्धान्त नयाँ पुस्ताका लागि मार्गदर्शन बनेको छ । (लेखक नेपाली कांग्रेसका नेता हुनुहुन्छ)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !