विश्वविज्ञान दिवस : समाजका लागि विज्ञानको आवश्यकता Nepalpatra विश्वविज्ञान दिवस : समाजका लागि विज्ञानको आवश्यकता
१५ मंसिर २०७९, बिहिबार

विश्वविज्ञान दिवस : समाजका लागि विज्ञानको आवश्यकता


डा. सुनिलबाबु श्रेष्ठ

काठमाडौँ । उपकुलपति नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) सामाजिक आर्थिक रुपान्तरणमार्फत मुलुकलाई समृद्ध बनाउन विज्ञान र प्रविधिको अह्म भूमिका रहेको तथ्य सर्वस्वीकार्य छ । राष्ट्रको सर्वाङ्गीर्ण विकासका लागि विज्ञान तथा प्रविधिको विकास र उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । विश्वमा विकसित राष्ट्रहरुको विकासको मूल आधार नै समयसापेक्ष प्रविधिको विकास रहेको पाइन्छ ।

जहाँ विज्ञान र प्रविधिको विकास, प्रवद्र्धन र उपयोग भएको छ, त्यहाँको विकासको दर उच्च रहेको छ । नेपालमा समयसापेक्ष र जनताको समस्या समाधान गर्न सक्ने किसिमले विज्ञान र प्रविधिको विकास र प्रयोग हुन सकिरहेको छैन । राज्यको सर्वाङ्गीण विकासको गतिलाई तीव्रता दिन, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा उपलब्ध ज्ञान, विज्ञान र प्रविधिको समुचित उपयोग गर्नसक्ने क्षमताको अभिवृद्धि गर्नु जरुरी देखिन्छ । वैज्ञानिक ज्ञानको प्रयोगले गुणस्तरीय जीवन प्राप्ति भएको उदाहरण संसारका विज्ञान र प्रविधि क्षेत्रमा अग्रणि मुलुकहरुको विकसित स्थितिबाट प्रष्ट हुन्छ । नेपालको संविधानले पनि वैज्ञानिक अध्ययन अनुसन्धानमार्फत दिगो विकासमा लक्ष्यहरु प्राप्त गर्न जोड दिइएको छ ।

विसं २०७६ मा ल्याइएको राष्ट्रिय विज्ञान प्रविधि र नवप्रवर्तन नीतिलेसमेत तथ्यमा आधारित अनुसन्धानमा जोड दिदै जनचेतना अभिवृद्धि गर्ने र समाजमा विद्यमान अन्धविश्वास र कुरीतिलाई निर्मूल गर्ने रणनीति निर्धारण गरेको पाइन्छ । यस सन्दर्भमा नेपालमा विज्ञान र प्रविधि क्षेत्रका कार्य गर्ने सर्वोच्च निकाय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्थापनादेखि निरन्तररुपमा समाजमा वैज्ञानिक चेतना अभिवृद्धि गर्ने, जनतालाई वैज्ञानिक ज्ञानद्वारा सूसुचित पार्ने र तथ्यमा आधारित जानकारी प्रदान गर्ने कार्य गर्दै आएको छ । विज्ञान र प्रविधि क्षेत्र अन्तरसम्बन्धित विषयवस्तु भएकाले एकल संस्थाभन्दा संस्थाहरुबीच सहकार्य र समन्वयबाट उद्देश्य प्राप्तिमा प्रभावकारी हुन सक्दछ । नास्टको चार दशकको इतिहासमा पछिल्लो समय विभिन्न कार्यक्रममा जोड दिएको छ ।

समाजका लागि विज्ञानः नास्टले आफ्ना गतिविधिहरु समाज केन्द्रित गरेर अगाडि बढिरहेको छ । जनताको आवश्यकता र समाज परिवर्तनका लागि वैज्ञानिक अध्ययन र क्रियाकलापहरु सञ्चालनमा विशेष जोड दिइएको छ । च्याऊसम्बन्धी अध्ययन अनुसन्धान होस् या सुन्तला खेतीमा लाग्ने रोग पत्ता लगाउने अनुसन्धान होस् समाजका समस्याको समाधानमा केन्द्रित गर्दै अध्ययन अनुसन्धान भइरहेको छ । विश्लेषणात्मक सेवा केन्द्रमार्फत जीवनका हरेक आवश्यक विश्लेषणात्मक कार्यमा जनतालाई सेवा पु¥याउने कार्यमा विज्ञानमा आधारित भई आफ्नो सङ्काय र केन्द्रहरु स्थापना गरिएका छन् ।

सङ्घीयता कार्यान्वयन : मुलुकले सङ्घीय संरचना धारण गरेपछि आफ्नो क्रियाकलाप केन्द्रमा मात्र सिमित नराखी नास्टले पनि आफ्नो गतिविधि सञ्चालन गरेको छ । हाम्रोजस्तो विकाशोन्मुख मुलुकमा विज्ञान र प्रविधिको विकास अपरिहार्य भएकाले सातवटै प्रदेशमा विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापना गरी विज्ञानलाई गाउँस्तरसम्म पुर्याउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको छ ।

प्रदेश नं. १ मा खाद्य र कृषि, मधेश प्रदेशमा चुरे संरक्षण र विकास, वाग्मती प्रदेशमा शहरी संरक्षण र वातावरण, गण्डकी प्रदेशमा पर्वतीय हरित अर्थतन्त्र, लुम्बिनी प्रदेशमा परम्परागत प्रविधि, कर्णाली प्रदेशमा सूचना र सञ्चार, सुदूरपश्चिम प्रदेशमा जडीबुटीसम्बन्धी अध्ययन अनुसन्धान कार्य गर्ने गरी विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्न नियमावलीको साथ कार्य अगाडि बढाएको छ । शहरहरुको दिगो विकासलाई ध्यान राख्दै हरियाली र खाद्य आत्मनिर्भरतर्फ उन्मुख शहर विकास गर्ने खाद्य हरियाली सहर कार्यक्रम र गाउँ-पालिकाहरुलाई वैज्ञानिक चेतनासहित सामाजिक आर्थिक रुपान्तरणमा सहयोग पुग्ने ढङ्गको वैज्ञानिक गाउँ कार्यक्रमहरु सञ्चालन भइरहेको छ । नास्टले सङ्घ, प्रदेश र पालिका तहसम्म आफ्ना गतिविधिलाई योजनाबद्ध ढङ्गबाट सञ्चालनमा ल्याएको छ ।

सिर्जनशीलताः नास्टले आफ्ना गतिविधि सञ्चालन गर्दा सिर्जनशीलतामा जोड दिएको छ । नास्ट अवस्थित सातदोबाटोदेखि गोदावरीसम्ममा करिब ११ किमी सडकका वरिपरि रहेका वैज्ञानिक सङ्घसंस्थासँग सहकार्य गरी विज्ञान सहरको अवधारणा विकास गरेको छ । यसबाट विज्ञान र प्रविधिप्रति रुचि सर्वसाधारण र विद्यार्थीमा बढाउन एवं विज्ञान प्रविधिसम्बन्धी जानकारीमूलक भ्रमण गर्ने अवसर प्राप्त हुन्छ । नास्टले आफ्नो हाताभित्र विज्ञान र प्रविधि र नवप्रवर्तन पार्क छोटकरीमा विज्ञान पार्कको अवधारणा विकास गरी कार्य अगाडि बढाएको छ ।

यस्तै आफूले दिइरहेको सेवालाई एकीकृत गरी सहज र प्रभावकारी ढङ्गबाट सर्वसाधारण, सङ्घसंस्थालाई विश्लेषणात्मक सेवा एकै ठाउँबाट दिन विश्लेषणात्मक सेवा केन्द्रको थालनी नास्टले गरेको छ । यस्तै कला र विज्ञानलाई जोडी अझ जनस्तरमा बुझाई वृद्धि गर्न, सचेतना जागरण गर्ने खालको कार्यक्रम सञ्चालनमा ल्याएको छ । समाजमा भएका घटना र समस्याको वैज्ञानिक सामाधानका लागि छिटोछरितो अध्ययन गरी जनताका समस्यालाई सामाधान प्रदान गर्न सहयोग पुग्ने गरी ‘द्रूत अवलोकन अध्ययन टोली’ निर्माण गरी यस्ता कार्यलाई बढवा दिने सिर्जनशील संयन्त्रहरुको विकास गरेको छ । समाजको समस्यालाई परिणाममुखी अनुसन्धानमार्फत समाधान दिनेतर्फ सिर्जनशील भई अध्ययन अनुसन्धानमा लाग्न वैज्ञानिक जनशक्तिलाई विशेष जोड दिइएको छ ।

सहकार्य र समन्वयः विज्ञान प्रविधि क्षेत्रको कार्य अन्तरसम्बन्धित भएको हुँदा विभिन्न सङ्घसंस्थाबीच सहकार्य र समन्वयमा मात्र सम्भव छ । एकल संस्थाको प्रयासबाट मात्र सफलता प्राप्त गर्न कठिन हुने हुन्छ । नास्टले यस कुरालाई मनन गरी राष्ट्रिय, अन्तराष्ट्रिय सङ्घसंस्थासँग सहकार्य र समन्वयन गरी आफ्नो गतिविधि सञ्चालित गरिरहेको छ । पछिल्लो चार वर्षमा करिब चार दर्जन सरकारी, गैरसरकारी, विभिन्न स्थानीय तह, मन्त्रालय, अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग समझदारीपत्र र सम्झौतापत्रमा हस्ताक्षर गरी सहकार्य र समन्वयमा वैज्ञानिक गतिविधिहरु अगाडि बढाएको छ ।

सिमारहित विज्ञान÷विज्ञान कुटनीतिः विज्ञान र प्रविधिको कुनै सीमा हुँदैन । एक ठाउँको अनुसन्धान र आविस्कार अर्को ठाउँमा सजिलै उपलब्ध र उपयोगी हुने हुँदा विकासको गति विश्वमा अद्भूत रुपमा भैरहेको छ । नास्टले पनि विज्ञान कुटनीतिमा विश्वास राखी विज्ञान कुटनीतिलाई प्रयोग गरी नास्टको समुन्नति र विज्ञान प्रविधि क्षेत्रका विकासमा अग्रसर हुने खालको गतिविधिलाई बढवा दिंदैछ ।

कोरिया सरकारको एनआइए संस्थाको सहयोगमा नास्टस्थित इन्फरमेशन एक्सेस सेन्टर स्थापना गरी सूचना र सञ्चारसम्बन्धी ज्ञान विद्यार्थी र इच्छुकहरुलाई दिदै आइरहेको छ । नाम एस एण्ड टि सेन्टरको सहयोगमा वैज्ञानिक क्षमता अभिवृद्धि गर्ने कार्यक्रम अगाडि बढिरहेको छ । चीनको कृषि तथा वन विश्वविद्यालय फूजियानसँग समझदारीपत्रको माध्यमबाट नेपालमा उपयोगी हुने जुन्काऊ प्रविधि हस्तान्तरण गर्ने कार्य अगाडि बढाइएको छ ।

वैज्ञानिक समावेशीता : नास्टले आफ्नो गतिविधि सञ्चालन गर्दा समावेशीतालाई विशेष ध्यान दिएको छ । युवा वैज्ञानिक फोरम र महिला वैज्ञानिक फोरम स्थापना गरी युवा र महिला वैज्ञानिकको क्षमता अभिवृद्धि गर्ने र युवा एवं महिला वैज्ञानिक र प्राविधिकलाई सहयोग र प्रोत्साहन गर्ने खालका गतिविधिहरु सञ्चालनमा नास्टले सहयोग पुर्याउँदै आएको छ । विज्ञान विषयका विद्यार्थीदेखि शिक्षकसम्म युवा नवप्रर्वतनदेखि विश्वविद्यालयका अनुसन्धान कर्तासम्मलाई विभिन्न ढङ्गबाट सहयोग पुर्याउँदै आएको छ । विभिन्न संस्थागत प्रतिनिधित्व हुने गरी १६ वटा उपसमितिहरुमार्फत नास्टका गतिविधिमा सहभागी हुने अवसर पनि प्रदान गरिएको छ ।

संस्थागत समुन्नतिः नास्टले आफ्नो समुन्नतिमा पनि ध्यान दिँदै विज्ञान प्रविधि क्षेत्रको विकासमा जोड दिँदैछ । अनुसन्धान कार्यलाई बढवा दिन एनिमल हाउस एवं बायोमेडिकल रिसर्च सेन्टरको भवन निर्माण कार्य सातदोबाटोस्थित केन्द्रीय कार्यालयको हाताभित्र सुरुआत गरिएको छ । रेडियसनसम्बन्धी अध्ययनलाई सहयोग पुर्याउन बन्करसहित अनुसन्धान भवन निर्माण गर्ने कार्यक्रम पनि रहेको छ ।

यस्तै पछिल्लो समयमा अत्याधुनिक उपकरणहरुसहित नास्टस्थित प्रयोगशालालाई अत्याधुनिक एवं समुन्नत बनाइएको छ । केन्द्रीय कार्यालयको हातामा ‘साइन्स पार्क’ निर्माण गर्ने मात्र होइन, प्रत्येक प्रदेशमा एक÷एक वटा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना कार्य समेतलाई अगाडि बढाइएको छ । राष्ट्रिय परम्परागत सीप एवं प्रविधि प्रशिक्षण केन्द्र राष्ट्रिय प्रविधि परिक्षण एवं प्रमाणीकरण केन्द्र स्थापनाको लागि अध्ययन गर्ने कार्यक्रमसहित अगाडि बढेको छ ।

संरचनाको परिमार्जनः नास्टको स्थापना भएको चार दशक भइसकेको छ । विज्ञान र प्रविधिको विकास गर्न नास्टले आफ्नो भूमिका अब फरक ढङ्गबाट निभाउन जरुरत भइसकेको देखिन्छ । तसर्थः आफ्नो चार दशक अगाडि बनाइएको संरचनामा परिमार्जित गर्नु आवश्यक भएको महसुस नास्टले गरेको छ । यसैलाई मनन गरी नास्टको संरचना परिमार्जन गर्दै यसका गतिविधिलाई अझ सशक्त ढङ्गबाट अगाडि बढाउन यसका उद्देश्य र संरचना पुनःपरिभाषित र परिमार्जन गर्न मन्त्रालयको प्रतिनिधिसहित विभिन्न प्राज्ञिक संस्थाका प्रतिनिधिहरु सम्मिलित भएको संरचना परिमार्जित उच्चस्तरीय समितिमार्फत कार्य अगाडि बढाइ रहेको छ ।

अनुसन्धानकर्तालाई सहयोगः नास्टले वैज्ञानिक सङ्घ÷संस्थालगायत वैज्ञानिक र प्राविधिकहरुलाई वैज्ञानिक क्रियाकलापमा सहयोग गर्न कार्यविधि निर्णय गरी क्रमश सहयोगमा वृद्धि गर्दै लगेको छ । पिएचडी र स्नातकोत्तरका विद्यार्थीलाई शोधपत्र तयार पार्न आर्थिक सहयोग गर्नुका साथै अनुसन्धानकर्तालाई अनुसन्धान वृत्ति प्रदान गर्ने गरेको छ । यस्तै विद्यार्थीहरुलाई अनुसन्धान गर्न विज्ञान र प्रविधि सङ्कायमार्फत सञ्चालित प्रयोगशाला उपलब्ध एवं सुपरीवेक्षण गर्ने व्यवस्था मिलाइएको छ । रिसर्च असिस्ट्यान्ट, रिसर्च फलो, एशोसियट रिसर्च फेलोजस्ता अनुसन्धान वृत्ति कार्यक्रम सञ्चालन गरी अनुसन्धानकर्मीलाई अवसर सिर्जना गरी दिएको छ ।

विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेशमा फर्किएपछि करिब एक वर्ष स्वदेशको वातावरणमा घुलमिल गर्न र अवसरको खोजी गर्नुको साथै आफ्नो अनुसन्धानलाई निरन्तरता दिनु र ज्ञान बाढ्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ ब्रेन पुलिङ्ग कार्यक्रम सञ्चालन भइरहेको छ । चालिस वर्षभन्दा कम उमेरले एशोसियट नास्ट फेलो, विशिष्ट अनुसन्धानकर्मी र विज्ञलाई एमिनेन्ट नास्ट फेलो दिने व्यवस्थाले विज्ञहरुलाई अनुसन्धान र ज्ञान अभिवृद्धि गर्ने अवसर पनि नास्टले प्रदान गर्दै आइरहेको छ ।

विज्ञान र प्रविधि क्षेत्रका व्यवसायिक सङ्घसंस्थालाई वैज्ञानिक सहकार्यअन्तरगत आर्थिक सहयोग पुर्याउनेदेखि भर्खर विश्वविद्यालयबाट दीक्षित भएका विद्यार्थीहरुलाई अनुसन्धान कार्यको अनुभव दिलाउने उद्देश्यअनुसार इन्टर्न गर्ने व्यवस्था पनि नास्टमा उपलब्ध छ । सातै प्रदेशका प्रतिनिधित्वमूलक स्थानीय तहमा विज्ञान प्रविधि क्षेत्रमा कार्य गर्न इच्छुक युवालाई स्थानीय तहकै सिफारिसमा नागरिकसँग नास्ट भन्ने कार्यक्रममा सहभागी हुने अवसर समेत नास्टले उपलब्ध गराएको छ ।

पछिल्लो समय नास्टले वैज्ञानिक र प्राविधिकहरुको आत्मसम्मान वृद्धि गर्न र प्रोत्साहित गर्न सहयोग पु¥याउने उद्देश्यले पुरस्कारको क्याटेगोरी थप गरी सम्मानित गर्दै आएको छ । यस वर्षदेखि विज्ञान र प्रविधि क्षेत्रमा विशिष्ट योगदान पु¥याउने गैरआवासीय नेपालीलाई समेत पुरस्कृत गर्ने गरी थप पुरस्कारको व्यवस्था भएको छ ।

चुनौती

विज्ञान तथा प्रविधि प्राथमिकतामा परेको भएपनि लगानीमार्फत सुनिश्चित गर्न सकेका छैनौँ । पर्याप्त बजेट नहुँदा नयाँ अनुसन्धान गर्न सकिएको छैन भने गरिएका अनुसन्धानका आधारमा प्रविधिको विकास हुन सकेको छैन । अर्को मुख्य चुनौतीका रुपमा जनशक्तिको पलायन मुख्य बनेको छ । हामीसँग विज्ञान प्रविधिका क्षेत्रमा गहिरो ज्ञान र अनुभव भएका पर्याप्त जनशक्ति भए पनि उनीहरुलाई परिचालन गर्न आर्थिक, प्राविधिक र संस्थागत संरचनाको अभावले सकेका छैनौँ ।

त्यस्तै विज्ञान कूटनीतिलाई पनि प्रभावकारीरुपमा अगाडि बढाउन सकिएको छैन । विभिन्न देशमा राजदूतका रुपमा जानुभएका व्यक्तित्वले पनि आर्थिक विषयमा मात्र ध्यान दिने गरेको तर विज्ञान प्रविधिमा ती मुलुकहरुले हासिल गरेका ज्ञान हस्तान्तरण गर्नेतर्फ ध्यान दिएको पाइँदैन ।

विज्ञान विनाविकास सम्भव छैन । हाम्रोजस्तो विकासोन्मुख देशमा विकासका लागि विज्ञान हुनु आवश्यक छ । देशको विकास र जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन विज्ञान तथा प्रविधिलाई पूर्णरुपमा सदुपयोग गरी औद्योगिक, सामाजिक क्षेत्रको प्रगतिका लागि वैज्ञानिक खोज र अनुसन्धानलाई प्रोत्साहित गर्नुपर्ने हुन्छ । त्यसैले नास्टले स्थापनाकालदेखि नै प्रविधिलाई सरल तथा सहजरुपमा नेपाली समाजमा स्थापित गर्दै आएको छ । (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपतिडा सुनिल बाबु श्रेष्ठसँग राष्ट्रिय समाचार समिति (रासस) का आलेख समाचार प्रमुख कृष्ण अधिकारीले गरेको कुराकानीको सम्पादित अंश)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !