२० आश्विन २०८१, आइतबार

देशको विकास कसरी सम्भव छ ?


काठमाडौँ

हामीसंग सवै छ । हुँदा-हुँदै पनि हामी परनिर्भरतामा बाँचिरहेका छौं । नेपालमा प्रशस्त जडिबुटी छ । तर छिमेकीबाट ल्याएर उत्पादन गर्छौं भने नोक्सान कसको हुन्छ ? हरेक नागरिकलाई परनिर्भरमा होइन आफ्नै पाखुरामा बाँच्न सिकाउनु पर्दछ । तर नेपाल जस्तो देश जहाँ आलुदेखि खुर्सानी सियोदेखि धागोसम्म विदेशी चलाउने परम्परा नेपालमा देखिन्छ । यसको खास कारण भनेको कमिसनतन्त्र भन्दा खासै फरक पर्दैन ।

एकपटक एउटा परिवारमा ६ जना सदस्य रहेछन् । बाबुको आम्दानी प्रशस्तै हुनाले सवै बसेर खाने रहेछन् । समय बितेको कसैलाई पत्तै भएनछ । एकदिन बुढा बितेछन् । सदगत भएपछि अब कसरी घर चलाउने भन्ने कुराको छलफल सुरु भएछ । छोरीले भने जस्तो म पोइल गइहाल्छु । हजुर मरिहाल्नु हुन्छ किन खेती गर्ने भनेको नत बुढी मरिन नत छोरी पोइल गइन् मंङसिरमा धान रोपेर हुन्थे कि भने जस्तै त्यो परिवारमा देखिएछ ।

यसरी हामीले कुनैपनि काम गर्दा सवै मिलेर गरेको भए शायद यस्तो परिस्थिति त्यो परिवारमा आउने थिएन एउटामा भरपर्ने परम्पराले गर्दाको परिणाम यस्तो हुन पुगेछ । काम गर्दा अरूको निर्भरमा होइन आफ्नै पाखुरामा भर पर्ने गर्दा भविष्यमा परनिर्भरबाट बचाउन सकिने छ । ठिक नेपालको अवस्था यस्तै हुदैछ । जुनसुकै दल सत्तामा पुगेपनि राम्रो काम गर्ने वातावरण तयार हुन सक्दैन यसको ठोस् कारण हो मतभिन्नता र घुट्टा तान्ने प्रवृत्ति । त्यसैले नै भन्ने गरिएको छ लोकतन्त्रमा काम गर्न त्यति सहज छैन ।

चुनाब हुन्छ तर बहुमत कसैको पनि पुग्दैन यस्तो अवस्थामा फेरि पनि मिलिजुली सरकार बन्छ । एकले अर्काको पालो कुरेर बसेको हुन्छ । काम गर्ने वातावरण बन्दैन । देशले अनावश्यक भार बहन गर्न सकिरहेको हुदैंन । भएका उद्योग बेच्ने या गलत सम्झौता गरेर देश हाक्ने मात्र काम गरेको हुन्छ । यो समय भनेको २१ औं शताब्दी पार भइसकेको युग हो । हिजोसम्म अस्त्रशस्त्रले लड्ने युग थियो भने अब जैविक युद्धबाट पैसा कमाउने युग शुरु भइसकेको छ ।

यस्तो युगमा हामीले अरूको भरोसामा नभई आफ्नै पाखुरामा भर पर्ने कामको शुरुवात गर्दा मात्र देशले कोल्टो फेर्ने छ । आज देशमा उद्योग समाप्त पारिएको अवस्था छ । अरूले गरिदेला र आम्दानी होला भन्ने भावनाले जरो गाडेको छ । सरकारलाई व्यापार गरेर घाटा हुनसक्छ भने नागरिकलाई नहोला भन्न सकिदैन । जसरी आज औषधि कम्पनीले देश ओगटेको छ त्यसरी नै अन्य कम्पनीले देशमा व्यापार गर्न अन्तर्राष्ट्रिय व्यापारलाई नेपालबाट लखेट्नु पर्छ । जसरी आज नेपालका औषधि कम्पनीले गर्दै आएका छन् ।

हामीले देखी गर्नु राम्रो हो तर देखासिकी गर्नु राम्रो पटक्कै होइन । अरूले के गर्दैछन् होइन हामीले के गर्न सकिन्छ भन्ने कुरामा विषेश जोड दिन आवश्यक छ । अरूले बम बनाउदै छन् हामीले पनि बम बनाउनु पर्छ भन्दा फजुल खर्च गर्नुपर्ने बाध्यात्मक परिस्थिति नआउला भन्न सकिदैन । त्यसैले देश सुहाउदो भेष भने झै हामीले काम गर्ने वातावरण तयार गर्दै जानुपर्ने हुन्छ । आज देश धेरै कमजोर हुदैछ । विदेशी ऋणले सीमा नाघ्दैछ । उत्पादन छैन देश परनिर्भरमुखी बन्दै गएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !