३० कार्तिक २०८१, शुक्रबार

घोर अलोकतान्त्रिक संस्कारमा फसेको देश नेपाल : पूर्वसचीव उपाध्याय


भिम उपाध्याय

काठमाडौँ, असार १७ । पूर्व सचीव भिम उपाध्यायले नेपाल घोर अलोकतान्त्रिक संस्कारमा फसेको देश भएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा एउटा पोष्ट गर्दै उनले आफ्नो धारणा व्यक्त गरेक हुन् ।

उनले ल्खेका छन् ,”नेपालका कुनै पनि नेतामा राजनीतिक लोकतान्त्रिक संस्कार देखिएन । पद छाड्न प्रधानमन्त्री मात्र हैन कि कुनै मन्त्री पनि तयार हुन छाडेका छन् । यिनीहरूलाई सत्ताभन्दा प्यारो अरू केही लाग्दैन र किर्ना जसरी पशु नमरेसम्म शरीरमा टास्सिईरहन्छन् ।”

प्रधानमन्त्री ओलीमा लोकतान्त्रिक संस्कार भएको भए फ्लोर परीक्षण गर्न सक्थे । संसदीय दलमभित्र नेतामाथि विश्वास छ कि छैन, संसदको विश्वास छ कि छैन भनेर विश्वासको मतका लागि प्रस्ताव राख्न सक्थे ।

प्रधानमन्त्री पद कसैले भन्दैमा पाउने र छाड्ने हैन। संसदीय दल र संसदको विश्वास हुदासम्म कसैले हल्लाउन पनि सक्दैन । प्रधानमन्त्री जनताको नेता हुन्छ, पार्टी त उसको सवारी साधन मात्र वा भर्याङ हो, जनतालाई पार्टी मतलब हुदैन, जनतानै पेसेन्जर हुन् ।

पेसेन्जरलाई ड्राईभरमाथि विश्वास छ कि छैन, त्यसको परीक्षण गराएर विश्वास प्राप्त गर्न मत लिई प्रमाणित भए झन तिब्र गतिमा दह्रो ढंगमा सत्ताको गाडी हुईकाउने हो। हिलोमा चार चक्का फँसेको गाडीको जति एक्सलेटर दबाए पनि कर्कस आवाज निकाल्ने, धुवॉ फ्याक्ने, तेलको नास मात्र हुने, तर माईलोमिटर र स्पिडोमिटर चलिरहेको देखेर गाडी कुदिरहेको छ भन्ने भ्रममा ड्राईभर रहनु जड्याहा बेहोसीमा भएमात्र हो। होसमा रहेको ड्राईभरले यसरी गाडी हाक्दैन ।

अब किचकिच हैन, प्रम ओलीले तत्काल संसदीय दलमा विश्वासको मत लिनुपर्छ । संसदमा पनि आफै अघि सरेर विश्वासको मत लिन सक्नुपर्छ, यसो गर्न किन डराएको? चारै चक्का हिलोमा फसाएर देशको राजकाज र सरकार चलाउन खोज्नु घोर अलोकतान्त्रिक कुसंस्कार हो ।

संघीय लोकतन्त्र र अलोकतान्त्रिक नेताबाट गणतन्त्र चलाउने अन्तिम अवसरलाई ओलीले आर्यघाट पुर्याउनै ऑटेका छन् । हुन त त्यो राम्रो काम पनि हुन सक्ला। पाल्न नसकिने हात्तीको रहर गरेर पनि काम त छैन नि । बाईबाई भन्ने रहरै गरेका हुन् त? हो भने ठिक गर्दैछन् ओलीले, त्यसका लागि उनलाई अग्रिम धन्यवाद दिने कि?

अहिले ३ करोड नेपाली जनता नेपालमा वैकल्पिक राजनीतिक ब्यवस्थाको जन्म पर्खिरहेका छन्। बडेबडे ठूला नेताहरू र पूराना जिर्ण दलदले दलहरू जनताका नजरमा निकम्मा तथा पत्तुर सिद्ध भइसकेका छन् । राजनीतिक ब्यवस्था परिवर्तन हुदैमा कुनै काम लाग्दैन जबसम्म काम नलाग्ने उही पूराना वाक्कलाग्दा नेताहरूको अनुहारको निरन्तर रजगज र पुनरावृत्ति चलिरहन्छन् । परिवर्तन भनेको अनुहार नै परिवर्तन हुने हो। अनुहार दशकौंसम्म सधैं उही पूराना तर भॉडा नयॉ भनेको पूरानो रक्सी नयॉ बोतलमा राखेको मात्रै हो, जसको हविगत के छ नेपालीले देखिहालेकै छन् ।

परिवर्तनका लागि नेपालीहरू अहिले तम्तयार देखिदै छन् । बच्चा जन्मनै ऑटेको छ, प्रसव गराउन अलिकति धाईआमाको मात्र खॉचो देखिदै छ। फुत्त कोही धाईआमा देखापर्ना साथ तन्दुरूस्त बच्चा नेपालमा जन्मनेवाला छ।

हाम्रो संस्कारमा प्राण जाने बेलामा वरिपरिका परिवार सदस्यले हरिहरि भन्नुपर्छ। मर्ने बेलमा भएपनि हरिको नाम लिएपछि जिन्दगीभरि पाप र अपराध कर्म गरेको भए पनि मृत्युसैय्यामा भएको मानिसको प्राण सजिलै जान्छ भन्ने मान्यता छ । बेकारमा अस्पताल कुदाएर, भेन्टिलेटर सेन्टिलेटर चढाएर, कोरामिन दिएर एकाध दिन बढी जोगाउने तिर लाग्दा प्राण जान असाध्य कष्टकर हुने हुन्छ । आफ्नै घर आगन वा पवित्र स्थलमै मरण हुन नपाउदा प्रेतात्मा चॉडै शान्त नहुने र मृतकले बैतरणी पार गर्न पनि ज्यादै कठिन हुने हुँदा परिवारजनमा अशान्ति छाईरहने हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

मुलुकमा पनि बेला बेलामा त्यस्तो अवस्था आउने गर्छ । बैतरणी सजिलो तरिकाले पार लगाउन के के तयारी गर्नुपर्छ त्यता सबैले ध्यान बेलैमा दिनुपर्छ । जिवन र मरण दिन र रात हो, एकपछि अर्को आउछ !

कुहिएको पार्टी र पतित नेताहरूको अवशान हुने संकेतलाई हेर्दा अन्यौल र अस्थिरता जस्तो लागे पनि जनताले यसलाई सुखद संकेत मान्नुपर्छ। घोर दमले ग्रस्त घ्यारघ्यार गरिरहने कष्टमय आज न भए भोली सुईकिने ‘सय’ वर्षीय जिर्ण शरीर ‘न आफू सुत्न सक्छ, न अरूलाई निदाउन दिन्छ’ को अवस्थामा पुगेको बूढो ज्यानको ईहलिला सकिने दिन आयो भने अलिअलि विगतका राम्रा पक्षको सम्झना गर्दै अन्तिम संस्कार र सदगद गर्दै घरमा १३ दिनको काजकिरिया गरेपछि सबै परिवार र आफन्तमा क्रमश: शान्ति छाउन थाल्छ। बस १३ दिनसम्म अलि कडा काजकिरियाको विधानको साधना भने पूरा गर्नुपर्छ । त्यतिका लामो जिवनकाल साथसाथै प्रेम र घर्षणसाथ बिताएपछि त्यति मानवीय जिम्मेदारी त पूरा गर्नै पर्यो। अलिकति दानदक्षिणा दिएपश्चात पुन: नर्मल लाईफ सुरु गर्ने हो । त्यसपछि सबैजना हाईसन्चो! नो टेन्सन प्लिज !

नोपालको संविधान बमोजिम प्रधानमन्त्री निर्वाचित गर्ने सांसदले हो, संसदले हो, पार्टीले हैन। पार्टीले भनेको यदि प्रमले मान्दैनन् भने पार्टीले उनलाई अनुशासनको कार्यवाही गर्ने सम्म हो । तर दलले जे सुकै गरे पनि प्रम हटाउने र बनाउने संसदले नै हो। जब देशमा अहिले जस्तो प्रममाथि चौतर्फी अविश्वास देखिन्छ, उसले फ्लोर टेष्ट गराएर संसदको अभिमतका आधारमा पदमा बस्ने वा छाड्नु पर्छ। विश्वासको मत पाए सरकार चलाउने हो, नपाए हटेर निकाश दिने हो। अहिले जस्तो त्रिशंकु अवस्थामा मुलुकको सरकारलाई ठप्प राखिरहनु हुदैन। मुलुक अरू दृष्टिले नै भयानक संकटमा फसिरहेको वर्तमान बेला नेताले निकास दिने हो, हलो अड्काउने हैन।

बाउले बिहे गर्दिएनन् भनेर झापा तिरकै हो क्या रे, एक गायक प्रकाश ओझाले उहिले गाउने गरेको एउटा गीत याद आयो । बाउले बिहे गर्देनन् पोर पनि, भत्काईदिन्छु बाख्राको खोर पनि, लौ ज्जा !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !