८ जेष्ठ २०८१, मंगलबार

रियो ओलम्पिकमा आज तीन नेपाली खेलाडीले प्रतिष्पर्धा


olampic nepal

काठमाडौँ : ब्राजिलमा जारी रियो ओलम्पिकअन्तर्गत नेपालका तीन खेलाडीले आज खेल खेल्दैछन्। आर्चरी (धनुकाँड) खेलमा स्वर्ण पदकका लागि नेपालका जीतबहादुर मोक्तानले प्रतिस्पर्धा गर्दैछन्।

पुरुष ७० मिटर आर्चरीमा उनले पहिलो खेल भारतका अतानु दाससँग खेल्नु पर्नेछ। उनको खेल नेपाली समयानुसार साँझ ५ः२१ बाट सुरु हुनेछ।

यसअघि मोक्तान शनिबार भएको खेलमा ६०७ स्कोर जोड्दै ६० औँ स्थानमा रहेका थिए। ३६ वर्षीय मोक्तानले भारतीय खेलाडीलाई अङ्कमा पछाडि पार्न सके अन्तिम १६ मा प्रवेश गर्नेछन्। उनले फाइनल चरणमा स्थान बनाउन अन्तिम १६ बाट पनि छनोट हुनु पर्नेछ। त्यस्तै भारतका अतानु भने पाचौँ स्थानमा छन्। उनले यसअघिको खेलमा ६८३ स्कोर गरेका थिए।

स्वर्ण पदकका लागि भिड्नु अघि मोक्तानले दुई दिन रियोमै अभ्यास गरेका छन्। मोक्तानको सबैभन्दा राम्रो प्रदर्शन भने ६४२ छ। उनले गत वर्ष बैंककमा भएको एसियन च्याम्पियनसिपमा उक्त प्रदर्शन गरेका थिए।

त्यस्तै जुडोकी फुपूल्यामु खत्रीले रियो ओलम्पिकको पहिलो चरणमा मरिसेट इस्पिनोसासँग मङ्गलबार प्रतिस्पर्धा गर्ने भएकी छिन्। बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जितेकी खत्रीले ६३ किलो मुनिको स्पर्धामा प्रतिस्पर्धा गर्दै छिन्।

उक्त स्पर्धामा ३६ खेलाडी सहभागी छन्। खत्रीले क्युबाली खेलाडीलाई पराजित गर्नसके उनी अन्तिम १६ मा प्रवेश गर्नेछिन्।

ओलम्पिक छात्रवृत्तिअन्तर्गत हङ्गेरीको राजधानी बुडापेस्टमा रियो ओलम्पिकका लागि खत्रीले पाँच महिना तालिम लिएकी थिइन् । दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा दुई पटक रजत पदक हात पारेकी २१ वर्षीया फुपूले रियो ओलम्पिकमा केही आशा देखाएकी छन् ।

रियो प्रस्थान गर्नुअघि फुपूले ओलम्पिकमा ५ मिटर पूरा खेल अवधि टिक्ने आफ्नो लक्ष्य भएको बताएकी थिइन् । फुपू र इस्पिनोसाबीचको विजेताले दोस्रो चरणमा विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी इजरायली यार्डेन गेर्बीको सामना गर्नेछन् ।

जुडोमा महिला र पुरुषका समान सात÷सात गरी कुल १४ स्पर्धा प्रतिस्पर्धा हुनेछ । उक्त स्पर्धामा १३६ देशका ३९० खेलाडी सहभागी छन् ।

त्यस्तै शिरिष गरुङले पनि मङ्गलबार नै पुरुष १०० मि ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्दैछन् । उनले रियो ओलम्पिकका लागि नौ महिनादेखि बैंककमा तालिम लिएका थिए । शिरिषले ४५ पटक राष्ट्रिय कीर्तिमान तोडेका छन् ।

नेपालकी गौरिका सिंह भने पौडीमा हिजो हिट चरणबाटै बाहिरिसकेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !