२ फाल्गुन २०८२, शनिबार

कतारमाथि नेपालको सनसनीपूर्ण जित, सन्दीपले लिए ५ विकेट


सन्दीप लामिछाने

काठमाडौं । स्पिनर सन्दीप लामिछानेकाे उत्कृष्ट बलिङमा नेपालले कतारलाई ५ रनले हराएको छ । सन्दीपले ५ विकेट लिएपछि नेपालले कतारलाई ५ रनले हराएको हो ।

लामिछानले अन्तिम ओभरमा १० रन रक्षा गरेसँगै नेपालले कतारविरुद्ध ५ रनको रोमाञ्चक जित निकालेको छ ।

ओमनमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको हो ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा अलआउट भयो । कतारसामु नेपाली बलरले शानदार प्रदर्शन गरे । नेपालका लागि सन्दीपको ५ विकेटसँगै नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए । अन्य ब्याटरबाट उल्लेख्य योगदान हुन नसक्दा पराजित हुन पुग्यो ।

नेपालका कप्तान रोहितले सर्वाधिक ५८ रन बनाए । उनले ४१ बलमा सात चौका र एक छक्का प्रहार गरे । यस्तै, दीपेन्द्रसिंह ऐरीले २६ रन थपे । ४८–३ को स्थितिबाट रोहित र दीपेन्द्रले चौथो विकेटका निम्ति ६२ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए ।

तर, १५औँ ओभरमा अन्तिम बलमा दीपेन्द्र आउट भएसँगै नेपालको ब्याटिङ लय पुनः बिग्रिएको थियो । यी दुईबाहेक गुल्सन झाले आठ बलमा दुई छक्कासहित १६ रन बनाए । सोमपाल कामीले १४ र ओपनर आसिफ सेखले ११ रन जोडे ।

कतारका मिर्जा मोहम्मद बाइग र ड्यानियल आर्चरले समान तीन विकेट लिए । मुहम्मद असिम र ओवाइस अहमेदको नाममा एक–एक विकेट रह्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !