काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई हराउँदै फाइनलमा पुगेको छ ।
कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स एनपिएलको फाइनलमा प्रवेश गरेको हो । कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर ८ विकेट गुमाएर पूरा गर्यो ।
जनकपुरको जितका लागि जेम्स निशमले सर्वाधिक ४५ रन जोडे । उनले १७ बलमा २ चौका र ५ छक्का प्रहार गरे ।हर्ष ठाकर २६ बलमा १७ रन बनाउँदै रन आउट भए । आकाश त्रिपाठीले २० बलमा १३ रन जोडे ।
मयन यादवले ७ रन बनाए । आसिफ शेख ४, लाहिरु मिलन्था २ तथा मोहम्मद मोहसिन १ रनमा आउट भए । शेर मल्ल १० बलमा १६ रनमा नट आउट रहे । कर्णालीका लागि विपिन शर्माले ३ विकेट, कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र जिशान मक्सुदले समान १ विकेट लिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनाएको थियो ।
कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा एक चौका र दुई छक्काको मद्दतमा २५ रन बनाएका हुन् । ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्काको सहयोगमा २४ रन जोडे भने विलियम बोसिस्टोले १५ बलमा एक चौकाको सहयोगमा १४ रन बनाए ।
जिशान मक्सुद ११ बलमा दुई चौकाको सहयोगमा १२ रन जोडे । त्यस्तै १७ बल खेलेका उनिस ठकुरीले दुई चौका प्रहार गर्दै १२ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कप्तान सोमपाल कामी पाँच रनमा आउट भए भने जयकिशन कोल्सावालाले एक रन बनाए ।
जनकपुरका लागि जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान दुई/दुई विकेट लिए । हर्ष ठाकर र शेर मल्लले समान एक/एक विकेट झारे ।