काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।
ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा एनपिएलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
१४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा विनोदले सर्वाधिक ५८ रन जोडे । उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।
सेफ अली जेबले ३ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए । यस्तै ब्रेण्डन मक्मुलनले १९ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रन जोडे ।
कप्तान दीपेन्द्र सिंह ऐरीले १६ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । जनकपुरका ललित राजवंशी र किशोर महतोले १-१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रनको योगफल बनाएको थियो । जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै तीन चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ४५ रन बनाए ।
त्यस्तै शुभ कंसाकारले २४ बलमा २६ रन जोडे । लाहिरु मिलन्था र हर्ष ठोकरले समान १२÷१२ रन जोडे भने आसिफ शेख र अरनिको यादवले समान ११÷११ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए भने सैफ जैबले दुई विकेट लिए । त्यस्तै स्कट कुगेलेइन र अविनाश बोहराले समान एक–एक विकेट लिए ।