काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको पहिलो ‘इलिमिनेटर’ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराएको छ । केहीबेर अघि सम्पन्न खेलमा कर्णालीले चितवनलाई २१ रनले हराएको हो ।
इलिमिनेटर खेलमा चितवनलाई २१ रनले हराउँदै कर्णाली एनपीएलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । कर्णालीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग खेल्नेछ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवन २० ओभरमा नौ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ५३ रन बनाए । उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । कप्तान कुशल मल्लले २४ बलमा १ छक्काको सहयोगमा २१ रन मात्र बनाउन सके ।
ल्युक बेनकिस्टेन १३ बलमा १ चौका र १ छक्काको सहयोगमा १६ रन जोडे । विपिन रावलले १० बलमा ४ चौकाको सहयोगमा १८ रनमा जोडे । हसन इसाखिल १ रन जोड्दै आउट भए ।
सन्तोष कार्की ८, अमरसिंह राउटेला ९ तथा सोहेल तन्भिर ४ रनमा आउट भए । शरद भेषवाकर १० रनमा नट आउट रहे । कर्णालीका लागि जिशान मक्शुदले ३ तथा कप्तान सोमपाल कामी र नन्दन यादवले समान २ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रनको योगफल बनाएको थियो । कर्णालीका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ३९ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाएका हुन् ।
त्यसैगरी, विल बसिस्टोले ५२ रन बनाउँदा चाडविक वाल्टनले अविजित ४६ रन जोडे भने जिसन मक्सुदले १४ रन बनाए । चितवनका लागि सोहिल तन्वीरले दुई विकेट लिए भने शरद भेषवाकर, कुशल मल्ल र रवि बोपाराले समान एक–एक विकेट लिए ।