२६ मंसिर २०८१, बुधबार

एनपिएल : जनकपुरमाथि सुदूरपश्चिमको सहज जित, शीर्ष स्थानमा उक्लियो


एनपिएल

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्समाथि सहज जित हासिल गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

आज बुधवारको खेलमा जनकपुरलाई ७२ रनले पराजित गर्दै सुदूरपश्चिम लिगको शीर्ष स्थानमा उक्लिएको हो । १२४ रनको लक्ष्य पछ्याएको जनकपुरले १२.१ ओभरमा अल आउट हुदै ५१ रन मात्र जोड्न सक्यो ।

जनकपुरका लागि जोशुवा ट्रम्पले सर्वाधिक १३ रन जोडे । उनले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । जनकपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । लाहिरु मिल्न्था ७ रन बनाउँदै आउट भए ।

ओपनर आसिफ शेख ४, कप्तान अनिल शाह रनको खाता नखोल्दै र हर्ष ठाकर ५ रन बनाउँदै आउट भए । सुदुरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पान्डेले समान २ तथा स्कट कुगेलेन, नरेन साउद, सेफ अलि जेब र हर्मित सिंहले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रनको योगफल बनाएको थियो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । उनले ३७ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३३ रन बनाएका हुन् । यसैगरी, सैब जैबले २१, इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

जनकपुरका लागि किशोर महतो एक्लैले चार विकेट लिए । त्यस्तै शेर मल्ल र अरनिको यादवले समान दुई–दुई विकेट झारेभने हर्ष ठाकरले एक विकेट लिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !