काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आजको दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई पराजित गर्दै विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा अलराउण्डर विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिएर कीर्तिमानी खेल प्रदर्शन गरेपछि कर्णालीले एनपीएलमा लगातार तेस्रो जित हात पारेको हो ।
पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । कर्णालीका लागि गुलशन झाले ४९ रन जोडे । उनले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।
चाडविक वाल्टनले ३४ बलमा ६ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए । कर्णालीले पहिलो विकेटका रुपमा देव खनाललाई गुमायो । रनको खाता नखोल्दै विपिन खत्रीको बलमा देव बोल्ड आउट भए ।
पोखराका लागि विपिन, सागर ढकाल र कुशल भुर्तेलले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १०३ रन बनाउँदै अल आउट भएको थियो । पोखराका दिनेश खरेलले १९ बलमा २६ रन जोडे ।
विलियम बोसिस्टोले एक्लैले एकै खेलमा ६ विकेट लिएपछि पोखरा अलआउट भएको थियो । पोखराका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५, रेमोन रेइफरले २० र कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०/१० रन बनाए ।
कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिश सिंह ठकुरीले एक/एक विकेट लिए ।