७ पुस २०८१, आइतबार

एनपिएल : चितवन ३३ रनले विजयी, सुदूरपश्चिमको पहिलो हार


चितवन ३३ रनले विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आज भएको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई हराएको छ । केहीबेर अघि सम्पन्न खेलमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले पराजित गरेको हो ।

एनपिएलमा सुदूरपश्चिम रोयल्सले चौथो खेलमा पहिलो हार बेहोरेको छ । चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्स १८.२ ओभरमा १३१ रनमा अल आउट भयो ।

सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन जाडे । उनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । उनी अमरसिंह राउटेलाको बलमा आउट भए । सेफ जेबले ११ बलमा १८ रन जोडे । विनोद भण्डारीले १०, दिलप्रित बाज्वाले १२ तथा नरेन साउदले ८ बलमा १० रन जोडे ।

चितवनका लागि कप्तान कुशल मल्ल, जान निकोल लफ्टी इटन, अमरसिंह राउटेलाले समान २ तथा रिजन ढकाल र रञ्जित कुमालले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । उसका लागि ओपनर हसन एइसाखिलले सर्वाधिक ६५ रन बनाए । उनले ५२ बल खेल्ने क्रममा छ चौका र तीन छक्का प्रहार गरे ।

साथै रवि बोपाराले १८ बलमा दुई चौका र दुई छक्काको साहरामा ३६ रन बनाए भने विपीन रावलले १७ रनको योगदान दिए । त्यसैगरी कप्तान कुशल मल्लले १३, सन्तोष कार्कीले नौ र अमर रौतेलाले छ रन बनाए ।

सुदूरपश्चिमका लागि स्कट कुगेलिजिनले दुई विकेट लिए भने ब्राण्डोन म्याक मुलेन, दीपेन्द्र सिंह ऐरी, सैफ जेबले समान एक–एक विकेट लिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !