२६ मंसिर २०८१, बुधबार

एनपिएल : पोखराले लुम्विनीलाई १० विकेटले हरायो


पोखरालाई हरायो लुम्विनीलाई

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई हराएको छ । केहीबेर अघि सम्पन्न खेलमा पोखराले लुम्विनीलाई १० विकेटले पराजित गरेको हो ।

ओपनर आन्द्रेस गौसको कीर्तिमानी सानदार शतक र दिनेश खरेलको अर्धशतकको कीर्तिमानी साझेदारीको सहयोगमा पोखरा एभेन्जर्सले कुनै विकेट नगुमाई सानदार पहिलो जित हासिल गरेको हो ।

लुम्बिनी लायन्सले जितका लागि दिएको १७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखरा एभेन्जर्सले १६.५ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो । पोखराका लागि गौसले नट आउट रहँदै सर्वाधिक १०४ रन बनाए ।

गौसले ५५ बलमा १२ चौका र ५ छक्का प्रहार गरेका थिए । पहिलो विकेटका लागि गौसले दिनेश खरेलसँग मिलेर १७६ रनको नट आउट साझेदारी गरेका थिए । यो एनपिएलमा भएको सर्वाधिक रनको साझेदारी हो ।

दिनेशले ६१ रन जोडे । उनले ४६ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए । पोखराले पावर प्लेमा कुनै विकेट नगुमाई ८० रन जोड्दै पावर प्लेमा सर्वाधिक रनको कीर्तिमान समेत बनायो ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्स सामु जितका लागि एक सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७० रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले अविजित रहँदै ५९ बलमा चार छक्का र १० चौका प्रहार गर्दै सर्वाधिक ९५ रन बनाए ।

टम मूर्सले ४५, सन्दीप जोराले १८ र विवेक यादवले दुई रनको योगदान दिए । लुम्बिनीका आशुतोष घिरैया र उन्मुक्त चन्दले शून्य रनमा आउट भए । यो खेलमा लुम्बिनीले अतिरिक्त १० रन प्राप्त गर्यो ।

पोखराका लागि विपीन खत्रीले दुई र म्याट क्रिचलेले एक विकेट हात पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !