२० पुस २०८१, शनिबार

एनपिएल : जनकपुरले कर्णालीलाई ८ विकेटले हरायो


जनकपुर बोल्ट्सले कर्णाली याक्स

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो भएको खेलमा जनकपुर बोल्ट्सले आफ्नो अपराजित यात्रा जारी राखेको हो ।

कर्णालीले दिएको १४२ रनको प्रतिस्पर्धात्मक लक्ष्य जनकपुरले १५.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । जनकपुरक जितका लागि कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेका थिए । अनिलको यो अर्धशतक प्रतियोगितामा नेपाली ब्याटरले बनाएको पहिलो अर्धशतक हो ।

शाहले अविजित रहँदै सर्वाधिक ६२ रन बनाए । उनले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे । अनिलले आसिफ शेखसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै आफ्नो टीमलाई जितको नजिक पुर्याएका थिए । आसिफले २९ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा ३६ रन जोडे ।

लाहिरु मिलन्थाले १३ बलमा २ चौका र २ छक्काको सहयोगमा २४ रन जोडे । लाहिरु जिशान मक्सुदको एलबिडब्लु धरापमा परे । जिम्मी निशम १६ रनमा नट आउट रहे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।

कर्णालीका लागि गुलसन झाले सर्वाधिक ३६ रन जोडे । उनले उनले २७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । अर्जुन घर्ती २३ बलमा ३३ बनाउँदै रन आउट भए ।

सातौं विकेटका लागि अर्जुन र सोमपाल कामीले ५६ रनको साझेदारी गरे । सोमपालले १३ बलमा ३ चौका र १ छक्काको सहयोगमा २९ रन बनाउँदै नट आउट रहे ।

ओपनर शिखर धवनले १४ बलमा ३ चौकाको सहयोगमा १४ रन जोडे । धवन पाँचौ ओभरको दोस्रो बलमा धवन हर्ष थाकरको बलमा बोल्ड आउट भए ।

कर्णालीको पहिलो विकेटका रुपमा देव खनाल आउट भएका थिए । देव दोस्रो ओभरको दोस्रो बलमा ललितनारायण राजवंशीको बलमा बोल्ड आउट भए । देवले ५ बलमा १ रन मात्र जोडे । चाल्डिक वाल्टनले १२ बलमा १ चौकाको सहयोगमा ८ रन बनाए । वाल्टनलाई मोहम्मद मोहसिनले एलबिडब्लु धरापमा पारे ।

चौथो विकेटका रुपमा जिशान मक्सुद रनको खाता नखोल्दै जेम्स निशमको बलमा एलबिडब्लु धरापमा परे । बाबर हायतले २४ बलमा १२ रन बनाए ।

पाँचौ विकेटका रुपमा आउट भएका बाबर मोहम्मद मोहसिनको बलमा जिम्मि निशमबाट क्याच आउट भए । जनकपुरका लागि मोहम्मद मोहसिनले २ तथा किशोर महतो, हर्ष ठाकर, जिम्मी निशमले समान १ विकेट लिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !