२० पुस २०८१, शनिबार

एनपिएल : चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई ५ विकेटले हरायो


चितवन राइनोज

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई ५ विकेटले हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान भएको खेलमा चितवन राइनोजले एनपीएलमा विजयी सुरुवात गरेको हो ।

काठमाडौंले दिएको ११२ रनको सामान्य लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । चितवनका लागि सन्तोष कार्कीले सर्वाधिक २८ रन बनाए । उनले ३१ बल खेल्ने क्रममा दुई चौका र एक छक्का प्रहार गरे ।

यस्तै लुक बेन्केनस्टाइनले २२, हसन इशाखिलले १२, कप्तान कुशल मल्लले ११ र रवि बोपराले ११ तथा शरद भेषवाकरले अविजित ११ रन बनाए ।

बलिङतर्फ काठमाडौँ गुर्खाजका लागि शाहब आलमले तीन तथा गेहार्ड इरास्मस र डान डाउथवेटले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय ११ रन बनाएको थियो ।

काठमाडौँका लागि सुमित महर्जनले ४१ बल खेल्दै एक चौकाको सहयोगमा सर्वाधिक २९ रन जोडेका थिए । त्यस्तै माइकल लेभिटले १६ बलमा चार चौका र एक छक्का हान्दै २५ रन बनाए । डान डाउथवेटले अविजित १९ र शङ्कर रानाले १६ रन बनाए ।

बलिङतर् चितवन राइनोजका लागि सोहेल तन्भिर एक्लैले पाँच विकेट लिए । उनले चार ओभरमा २१ रन खर्चिए । यस्तै रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टाइनले एक एक विकेट लिएका थिए ।

केहीबेरमा अर्को खेल जनकपुर वोल्ट्स र कर्णाली याक्सबीच सुरु हुँदै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !