८ असार २०८१, शनिबार

विश्वकप क्रिकेट : बङ्गलादेशद्वारा नेदरल्यान्ड्स पराजित


बङ्गलादेशद्वारा नेदरल्यान्ड्स पराजित

काठमाडौँ । आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा बङ्गलादेश नेदरल्याण्ड्सलाई २५ रनले पराजित गर्दै विजयी भएको छ ।

वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा गए राति सम्पन्न खेलमा बङ्गलादेशले दिएको एक सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रनमा समेटियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले २२ बलमा सर्वाधिक ३३ रन बनाए । त्यस्तै विक्रमजित सिंहले २६, कप्तान स्कट एडवर्ड्सले २५, माइकल लेभिटले १८, आर्यन दत्तले १५ तथा म्याक्स ओडाउडले १२ रन बनाए ।

बङ्गलादेशका लागि होसेनले तीन विकेट लिए भने तास्किन अहमदले दुई विकेट झारे । त्यस्तै मुस्तफिजुर रहमान र तान्जीम शकीबले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५९ रनको योगफल बनाएको थियो । बङ्गलादेशका लागि शाकीब अल हसनले ४६ बलमा नौ चौकासहित सर्वाधिक ६४ रन जोडेभने तान्जिद हसनले ३५ रन बनाउँदा महमुदुल्लाहले २५ रन तथा जाकेर अलीले १४ रन बनाए । नेदरल्याण्ड्सका लागि आर्यन दत्त र पल भ्यान मिकरनले समान दुई दुई विकेट लिए भने टिम प्रिङ्गलले एक विकेट लिए ।

यो जितसँगै समूह ‘डी’ मा रहेको बङ्गलादेशको तीन खेलमा चार अङ्क जोडेको छ । नेदरल्याण्ड्सको तीन खेलमा दुई अङ्क रहेको छ । त्यस्तै नेपालको दुई खेलमा एक अङ्क रहेको छ । श्रीलङ्काको तीन खेलमा एक अङ्कमात्र रहेको छ । नेपाल र दक्षिण अफ्रिकाको खेल भोलि हुनेछ । दक्षिण अफ्रिका भने विश्वकपको सुपर आठमा पुगिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !