८ पुस २०८१, सोमबार

एसएमएस फ्रेन्डसिप कपको उपाधिका लागि गुजरात र नेपाल भिड्दै


नेपाली क्रिकेट टीम

काठमाडौं । भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधिका निम्ति नेपाली क्रिकेट टिमले आज गुजरात क्रिकेट एसोसियसनको सामना गर्दैछ । यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको रूपमा फाइनलमा आइपुगेको हो ।

यस्तै, गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा आएको हो । त्रिकोणात्मक शृंखलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थिए । बरोडा भने लिग चरणबाटै बाहिरिएको हो ।

प्रतियोगिताको फाइनल भारतको वापीमा हुनेछ । नेपालले शृंखलाको पहिलो खेलमा गुजरातलाई आठ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा पुनः गुजरातलाई आठ रनले हराएको थियो ।

अन्तिम खेलमा भने नेपाल बरोडासँगै ३७ रनले पराजित भएको थियो । एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपको तयारीका निम्ति नेपालले भारत भ्रमण गरेको हो ।

भारत भ्रमणपछि एसीसी प्रिमियर कपका लागि घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, बिवेक यादब, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा र आकश चन्द छन् । नेपाली टोलीको प्रशिक्षकमा भारतका मोन्टी देसाई रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !