२२ बैशाख २०८१, शनिबार

नेपालद्वारा क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज ‘क्लिन स्वीप’


नेपाली क्रिकेट टीम

काठमाडौँ । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिज नेपालले ‘क्लिन स्वीप’ गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको अन्तिम एकदिवसीय खेल नेपालले ९ विकेटले जितेसँगै ‘क्लिन स्वीप’ गरेको हो ।

नेपालले पहिलो पटक घरेलु मैदानमा आयोजना भएको क्रिकेट शृङ्खला क्लिनस्विप गरेको हो । यसअघि नेपालले ओमानमा पपुवा न्यूगिनविरुद्ध दुई खेलको शृङ्खला २–० ले जितेको थियो ।

क्यानडाविरुद्धको तेस्रो एकदिवसीय सिरिजमा नेपालको जितका लागि अनिल साह र भीम सार्कीले शतक बनाएका छन् । नेपालका लागि अनिल र भीमले १८९ रनको उत्कृष्ट साझेदारी गरे ।

अनिलले सर्वाधिक ११२ रनको योगदान दिए । उनले १२४ बलमा १२ चौका र २ छक्का प्रहार गरे । त्यस्तै भीमले १०१ रन बनाए । उनले १२९ बलमा ११ चौका र १ छक्का प्रहार गरे ।

एकदिवसीय क्रिकेटमा दुई नेपाली ब्याट्सम्यानले शतक पूरा गरेको यो पहिलो पटक हो । यस्तै कुशल भुर्तेलले १३ रन जोडे । बलिङतर्फ क्यानडाका शाहिद अहमदजैले एक विकेट लिए ।

आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रनको योगफल बनाएको थियो । नेपालले दुई २३३ रनको विजयी लक्ष्य एक विकेटको क्षतिमा ४५ औँ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने क्रममा क्यानडाका लागि नवनीत धलिवालले अर्धशतकीय पारी खेले । उनले ८२ बल खेल्दै पाँच चौकाको मद्धतमा ५० रन बनाए । यस्तै निखिल दत्तले ४५, कप्तान साद बीन जाफरले ३१, हर्ष थेकरले २९, श्रेयस मोब्बाले २५ तथा श्रीमान्थ विजेरत्नले २२ रन बनाए ।

बलिङतर्फ नेपालका लागि आजको खेलमा डेब्यू गरेका हेमन्त धामीले तीन, कुशल मल्लले दुई तथा ललितनारायण राजवंशी र अकाश चन्दले एक एक विकेट लिए ।

यसअघि बिहीबार र शनिबार भएको पहिलो र दोस्रो खेलमा नेपाल विजयी भइसकेर दुई खेलमा जित हासिल गरेसँगै तीन खेलको सिरिज नेपालले अन्तिम खेलअघि नै जितिसकेको थियो ।

पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । आज नेपाल अन्तिम खेलमा विजयीका साथ सिरिजमा क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदान उत्रेको नेपालको उद्धेश्य पुरा भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !