१३ आश्विन २०८१, आइतबार

मलेसियालाई ६ विकेटले हराउदै नेपाल विश्वकप छनोटको सेमिफाइनलमा


कुशल मल्ल

काठमाडौँ । आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले पराजित गरेको थियो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जीतका लागि कुशल मल्लले बिस्फोटक ब्याटिङ गर्दैै अर्धशतकीय पारी खेले ।

उनले ३४ मा सात छक्का र दुई चौकासहित ६५ रन बनाए । साथै ओपनर कुशल भुर्तेलले चार छक्का र चार चौकाको सहयोगमा महत्वपूर्ण ४३ रन र आशिफ सेखले दुई छक्का र एक चौकाको सहयोगमा ३२ रन बनाए । त्यसैगरी सन्दीप जोराले १८ र कप्तान रोहित पौडेल र विवेक यादवले दुई/दुई रन बनाए ।

मलेसियाका लागि मोहम्मद अमिरले तीन र पवनदीप सिंहले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६५ रन बनायो । मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् । उसका लागि ओपनर एवम् विकेटकिपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए । उनले ४९ बलमा दुई छक्का र आठ चौका प्रहार गरे । साथै जुवैदी जुल्किल्फले २४, शाविन मेनाइडी र विजय उन्नीले समान १३/१३ रन बनाए ।

नेपालका लागि अविनाश बोहोराले चार विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा रोहित पौडेलले एक/एक विकेट लिए ।

नेपाल प्रतियोगिताको समूह एमा छ । नेपालको समूहमा सिंगापुर, मलेसिया, ओमान छन् भने समूह बीमा संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, बहराइन र कुबेत छन् ।

टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । नेपालले तेस्रो खेल यही कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !