१३ आश्विन २०८१, आइतबार

एसिया कप क्रिकेट : नेपाललाई १० विकेटले हराउदै भारत सुपर फोरमा प्रवेश


भारत सुपर फोरमा प्रवेश

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच भएको खेलमा भारत विजेता बनेर सुपर फोरमा प्रवेश गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो ।

वर्षाको कारण दुई घण्टा भन्दा बढी खेल रोकिएपछि भारतले २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य पाएको थियो । भारतले डकवर्थ लेविस पद्धतिको आधारमा २३ ओभरमा १४५ रनको विजयी लक्ष्य पाएको थियो ।

भारतले पाएको नयाँ लक्ष्य विना विकेट क्षति ‍‍‍२०.१ ओभरमा पुरा गर्यो । भारतको जितका लागि रोहित शर्माले ७४ र शुभमन गिलले ६७ रन जोडे । एसिया कपमा भारतसँग १० विकेटले पराजित हुँदै अंकविहीन बनेर समूह चरणबाटै नेपाल बाहिरिएको छ ।

नेपालले दिएको २३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पानी परेपछि खेल रोकिएको थियो । भारतले दुई दशमलव एक ओभरमा १७ रन बनाउँदा पानी परेपछि खेल अवरुद्ध भएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशलव दुई ओभरमा सबै विकेट गुमाउँदै २३० रन बनाएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट खेलको २७ वर्षपछि पहिलो पटक भारतसँग खेलेको नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्यो । नेपालका लागि सुरुआती ब्याट्सम्यान आसिफ शेखले सर्वाधिक ५८ रनको योगदान दिए । उनले ९७ बलमा ८ चौकाको मद्दतमा सर्वाधिक ५८ रनको योगदान दिए । उनी एसिया कपमा तथा भारत विरूद्धको खेलमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बने ।

त्यसैगरी अर्का सुरुआती ब्याट्सम्यान कुशल भुर्तेल ३८ रन बनाएर आउट भए । शार्दुल ठाकुरको बलमा दशौँ ओभरको पाँचाँै बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३८ रन बनाएका हुन् । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि नौ दशमलव पाँच ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । भुर्तेल पेभेलियन फर्किएपछि नेपालले लगातार विकेट गुमाउन पुग्यो ।

कप्तान रोहित पौडेल भारतका रवीन्द्र जडेजाको बलमा पाँच रनमा आउट भए । कुशल मल्ल चौथो विकेटको रूपमा दुई रनमै आउट भए । भीम सार्की पनि सात रनमा भारतका जडेजाको बलमा १६ ओभरमा बोल्ड हुन पुगे । त्यसैगरी छैटौँ विकेटको रूपमा गुल्सन झा २३ रन बनाउँदै पेभेलियन फर्किए । उनले ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाएका थिए ।

सातौँ विकेटका रूपमा नेपालले दीपेन्द्र सिंह ऐरीलाई गुमायो । उनी खेलको ४१ दशमलव एक ओभरमा २९ रन जोड्दै आउट भए । उनले २५ बलमा तीन चौकाको मद्दतमा २९ रन बनाएका हुन् । नेपालले आठौँ विकेटको रूपमा सोमपाल कामीलाई गुमायो । सोमपाललाई भारतका मोहम्मद शामीले आउट गराएका हुन् । उनले ५६ बलमा दुई छक्का र एक चौकाको मद्दतमा ४८ रन बनाए ।

त्यसैगरी खेलको ४७ दशमलव चार ओरभमा नवौँ विकेटको रूपमा सन्दीप लामिछाने आउट भए । उनले १७ बल खेल्दै नौ रन बनाए । त्यस्तै ललित राजवंशी शून्य रनमा आउट हुँदा करण केसी दुई रनमा अविजित रहे ।

बलिङतर्फ भारतका रवीन्द्र जडेजा र मोहमद सिराजले समान तीन-तीन विकेट लिए भने मोहम्मद शामी, हार्दिक पाण्डे र शार्दुल ठाकुरले समान एक-एक विकेट लिए ।

आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा भारत विजेता टोली एसिया कपको सुपर फोरमा पुगेको हो । समूह ‘ए’ मा रहेको पाकिस्तान भने सुपर फोरमा पुगिसकेको छ । समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ ।

समूह ‘बी’मा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !