६ जेष्ठ २०८१, आइतबार

नेदरल्याण्ड्ससँग हारेसँगै एकदिवसीय विश्वकप खेल्ने नेपालको सपना चकनाचुर


नेपाली क्रिकेट टीम

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेदरल्याण्ड्ससँग हारेसँगै एकदिवसीय विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।

नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएसँगै नेपाल आईसीसी विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको हो । अव नेपालको आईसीसी क्रिकेट विश्वकप छनोटको ‘सुपर सिक्स’मा प्रवेश गर्ने नेपालको सम्भावना समाप्त भएको हो । यो जितसँगै नेदरल्याण्ड्स भने सुपर सिक्समा प्रवेश गरेको छ ।

जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १६७ रनको योगफल बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्याण्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको थियो ।

त्यस्तै यस खेलसँगै समूह ‘ए’ बाट सुपर सिक्समा पुग्ने टोलीको टुङ्गोसमेत लागेको छ । समूह ‘ए’ मा रहेको नेपाल र अमेरिका प्रतियोगिताबाट बाहिरिएका छन् भने नेदरल्याण्ड्स, जिम्बावे र वेस्टइन्डिज प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेका छन् ।

नेदरल्यान्डस्को जितमा म्याक्स ओडाउडले ७५ बलमा आठ चौका र छ छक्कासहित ९० रन बनाए । त्यस्तै साव डि लिडेले ४१ रन र विक्रमजित सिंहले ३० रन बनाए । नेपालका सन्दीप लामिछानेले दुई विकेट र गुल्सन झाले एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ३३, कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७–२७, भीम सार्कीले २२, गुल्सन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रन बनाए ।

नेदरल्याण्ड्सका लागि लागन भान विकले चार विकेट लिए भने विक्रमजित सिंह र बास डि लिडेले समान दुई/दुई विकेट हात पारे । त्यस्तै क्लेटन फ्लोयड र आर्यन दत्तले समान एक–एक विकेट लिए ।

नेपाल यसअघि जिम्बावेसँग आठ विकेट र वेस्टइन्डिजसँग एक सय एक रनको फराकिलो अन्तरले पराजित भएको थियो । त्यस्तै नेपालले अमेरिकालाई भने ६ विकेटले पराजित गरेको थियो ।

यसअघि जिम्बावेसँग ६ विकेटले पराजित नेदरल्याण्ड्सले अमेरिकालाई पाँच विकेटले हराएको थियो । समूह चरणको आफ्नो अन्तिम खेल सोमबार नेदरल्याण्ड्सले वेस्टइन्डिजसँग खेल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !