२३ भाद्र २०८१, आइतबार

अमेरिकाविरुद्ध नेपालको सानदार जित


नेपाली क्रिकेट टीम

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोट–२०२३ प्रतियोगितामा अमेरिकाविरुद्ध नेपालले सानदार जित हासिल गरेको छ । जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा आज भएको खेलमा अमेरिकालाई नेपालले सहज रुपमा हराएको हो ।

जितको लागि २०८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालले अमेरिकामाथि ६ विकेटको सहज जित हात पारेको हो ।

विश्ककप ग्लोवल छनोट क्रिकेटमा नेपालले पहिलो जित हासिल जित गरेको हो । तीव्र गतिका बलर करण केसीको उत्कृष्ट बलिङ र भीम सार्कीको अर्धशतकमा नेपालले अमेरिकालाई ६ विकेटले हराउन सफल भएको हो ।

नेपालको जितका लागि करण केसीले ४ विकेट लिए भने भीम सार्कीले ११४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७७ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी ३२ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे । दीपेन्द्रले सौरभ नेत्रवालकरलाई चौका हान्दै खेल सकाए ।

ओपनर कुशल भुर्तेल ५४ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट हुन पुगे । कुशल स्पिनर नोष्तुश केन्जिगेको १७ औं ओभरको दोस्रो बलमा कट एण्ड बोल्ड आउट भए ।

अर्का ओपनर आसिफ शेखले १२ रन बनाए । कप्तान रोहित पौडेल २९ बलमा २ चौकासहित १६ रनमा आउट भए । कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए ।

बलिङतर्फ अमेरिकाका सौरभ नेत्रवालकर, केन्जिगे, निसर्ग पटेल र स्टिभ टेलरले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २०७ रनको योगफल बनाएको थियो ।

अमेरिकाका लागि शायन जाहान्गिरले शतकीय पारी खेलेका थिए । उनले ७९ बलमा १० चौका र तीन छक्काको मद्दतमा अविजित एक सय रन बनाएका थिए । यस्तै सुशान्त मोदनीले ४२ रन बनाएका थिए । उनले ७१ बलमा तीन चौका र एक छक्का प्रहार गरेका थिए ।

त्यस्तै गजानन्द सिंहले २६ रन बनाएका थिए । उनले ४१ बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए । जसदिप सिंहले २५ बलमा १२ रन बनाएका थिए ।

बलिङतर्फ नेपालका लागि करण केसीले चार, गुलसन झाले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिएका थिए । यो जितसँगै नेपालले पहिलो जितका साथ शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।

जारी प्रतियोगितामा दुई खेल खेलको नेपालको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । नेपालले अब आफ्नो तेस्रो खेल यही असार ७ गते वेस्टइन्डिजसँग खेल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !