१९ बैशाख २०८१, बुधबार

सार्वजनिक निजी साझेदारीमा खेल क्षेत्रको विकास गरिने छ : खेलकुदमन्त्री लिम्बू


डिगबहादुर लिम्बू

कास्की । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सार्वजनिक निजी साझेदारीबाट खेलकुद क्षेत्रको विकास गरिने बताएका छन् । खेल पूर्वाधार निर्माण तथा खेलकुद प्रतियोगिता सञ्चालनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने योजना बनाएको उहाँले स्पष्ट पारे ।

खेलकुद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले नेपाली खेलकुदको विकासमा निजी क्षेत्रबाट समेत धेरै सहयोग प्राप्त भएको बताए । उनले भने, “खेलकुद क्षेत्रमा सरकारले मात्र सबै थोक गर्न सक्दैन । निजी क्षेत्रलाई समावेश गर्न नसके हामी अगाडि जान सक्दैनौँ । खेल प्रवद्र्धन, खेलाडीलाई सहयोग गर्ने धेरै हातहरु छन्, उनीहरुलाई संरक्षण गर्ने दायित्व हाम्रो हो ।”

खेलकुदमन्त्री लिम्बूले आगामी डिसेम्बरमा चीन हुने १९औँ एसियाली खेलकुदको तयारी सुरु भएको जानकारी दिए । उनले खेलाडीहरुको छनोट तथा प्रशिक्षणलाई पारदर्शी बनाइने प्रतिबद्धता जनाए । “एसियन खेलकुदमा सहभागी हुने खेलाडीहरुको पारदर्शी रुपमा छनोट गरिने गरिनेछ । सकेसम्म राष्ट्रिय खेलकुद परिषद्ले छनोट प्रक्रिया र खेलाडीको सुविधाको अनुगमन गरोस् भन्ने मन्त्रालयको चाहना छ”, उनले भने ।

पोखरा पर्यटकीय सहरसँगै खेलकुदको समेत सहर भएको बताउँदै उहाँले पोखराको आवश्यकताअनुसार खेलकुद पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, “निर्माण भएका खेल पूर्वाधारको सुधार र संरक्षणसहित थप खेल प्रवद्र्धन र खेल पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्नेछ ।”

सङ्घीयताअनुसार खेल क्षेत्रको संरचना विकास नहुँदा उत्साह आउन नसकेको मन्त्री लिम्बूले बताए । उनले खेल क्षेत्रलाई देशको विद्यमान संरचनाअनुसार अघि बढाइने स्पष्ट पार्दैै त्यसका लागि कर्मचारी व्यवस्थापनका लागि कर्मचारी नियमावली र प्रशासनिक नियमावली संशोधन प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

खेलकुदमन्त्रीले भने, “सङ्घीयताअनुसार खेल क्षेत्रलाई अघि बढाउँदा बल्ल उत्साह छाउने छ । खेल क्षेत्रमा धेरै गर्न सक्छौँ । खेल पदाधिकारीहरुले मितव्ययी भएर खेलाडीहरुको सुविधाका लागि काम गर्नुपर्दछ भन्ने भनेर लाग्नु आवश्यक छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !