२६ बैशाख २०८१, बुधबार

एसिया कप खेल्नका लागि युएईले नेपाललाई दियो ११८ रनको सामान्य लक्ष्य


नेपाली क्रिकेट टीम

काठमाडौँ । एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीचको वर्षाका कारण हिजो स्थगित भएको फाइनल खेल जारी रहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हिजो भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि आज जारी रहेको हो ।

युएईले एसिसी प्रिमियर कपको फाइनलमा नेपाललाई एसिया कपमा पुग्नका लागि युएईले ११८ रनको सामान्य लक्ष्य दिएको छ । आज भएको खेलमा युएई ३३.१ ओभरमा ११७ रनमा अल आउट भयो ।

हिजोको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेटका क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षा भएपछि खेल हुन सकेन र आजसम्मका लागि स्थगित भएको थियो ।

आज मंगलबार युएईले १५ औं बलमा रनको खाता खोलेको थियो । अन्तिम विकेटको रुपमा जुनैद सिद्दिक १७ बलमा १ छक्कासहित १० रनमा कुशल भुर्तेलबाट क्याच आउट भए ।

खेल रोकिनुअघि हिजो युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए । उनले ५४ बल खेल्दै एक छकका र सात चौका प्रहार गरे । त्यस्तै आर्यन लाक्राले १३, मोहम्मद वासिमले ११ र बसिर हमिदले १० बनाए ।

नेपालका लागि ललित राजबंशीले तीन विकेट लिएका थिए भने करण केसी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिएका । त्यस्तै गुल्शन झा र सोमपाल कामीका नाममा एक-एक विकेट रहयो ।

यसअघि नेपाल समूह ‘ए’ को विजेता बन्दै फाइनलमा पुगेको थियो । सेमिफाइनलमा कुवेतसँगको खेल वर्षाको कारण नतिजाविहीन भएपछि नेपाल समूह विजेताका रुपमा फाइनलमा पुगेको हो । साथै युएईले सेमिफाइनल खेलमा ओमानलाई दुई रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !