८ बैशाख २०८१, शनिबार

एसीसी प्रिमियर कप फाइनल : नेपाल र युएई बीचको बाँकी खेल सुरु


नेपाल र युएई बीचको बाँकी खेल सुरु

काठमाडौँ । एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीचको वर्षाका कारण हिजो स्थगित भएको फाइनल खेल आज सुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हिजो भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि आज सुरु भएको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार आज सुरु भएको खेल हिजोकै निरन्तरता भएको छ अर्थात् हिजो रोकिएकै ओभरबाट आज विहान ९ बजेदेखि बाँकी खेल सुरु भएको हो ।

हिजोको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेटका क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षा भएपछि खेल हुन सकेन र आजसम्मका लागि स्थगित भएको थियो ।

खेल रोकिनुअघि युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए । उनले ५४ बल खेल्दै एक छकका र सात चौका प्रहार गरे । त्यस्तै आर्यन लाक्राले १३, मोहम्मद वासिमले ११ र बसिर हमिदले १० बनाए ।

नेपालका लागि ललित राजबंशीले तीन विकेट लिएका थिए भने करण केसी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिएका । त्यस्तै गुल्शन झा र सोमपाल कामीका नाममा एक-एक विकेट रहयो ।

यसअघि नेपाल समूह ‘ए’ को विजेता बन्दै फाइनलमा पुगेको थियो । सेमिफाइनलमा कुवेतसँगको खेल वर्षाको कारण नतिजाविहीन भएपछि नेपाल समूह विजेताका रुपमा फाइनलमा पुगेको हो । साथै युएईले सेमिफाइनल खेलमा ओमानलाई दुई रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !