काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा राखिएको छ । लामिछानेविरुद्ध जबर्जस्ती करणीको मुद्दाको अन्तिम सुनुवाइ आज पनि हुन नसकेको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको मुद्दा बुधबार पनि हेर्न नभ्याइनेमा राखिएको हो ।
न्यायाधीश घिमिरेको इजलासमा तोकिएको मुद्दा पेशीमा पछाडिको क्रममा रहेकाले सुनुवाइका लागि आज पालो नआएको हो । उनीविरुद्धको उक्त मुद्दाको फैसला हुने तयारी थियो ।
यसअघि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा गत चैत १३ गतेमा पेसी परेपनि उनकै कानुन व्यवसायीले अनुरोधमा पेशी स्थगित गरिएको थियो ।
सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’बाट सकाउन आदेश दिएपनि हालसम्म अन्तिम सुनुवाइ हुन नसकेको हो । लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग लागेको छ ।