२ मंसिर २०८१, आइतबार

पीएनजीद्वारा नेपाललाई ९६ रनको झिनो लक्ष्य, सन्दीपले लिए पाँच विकेट


सन्दीप लामिछाने फाइल फोटो

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अन्तिम शृखंलाको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई ९६ रनको झिनो लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९५ रनमा आल आउट भएको हो ।

सन्दीप लामिछाने एक्लेले पाँच विकेट लिएपछि पपुवा न्युगिनीको पारी ९५ रन समेटिएको हो । आज नेपालले टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङ गर्ने निम्तो दिएको थियो ।

पपुवा न्युगिनीका ब्याटर नेपाली बलरसामु निरीह साबित भए । पपुवा न्युगिनीले सुरुआतमै महत्वपूर्ण दुई विकेट गुमाएको थियो । हिरी हिरी, सेसे बाउ, कप्तान असाद भाला र आल्र्स अमिनीले पारी सम्हाल्ने प्रयायस गरे । तर नेपाली बलरले उनीहरुलाई खुलेर खेल्न दिएनन् । भालाले २०, बाउले १८, अमिनीले १६ तथा हिरीले १४ रन बनाए । अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन ।

बलिङतर्फ नेपालका लागि लामिछानेले पाँच विकेट लिए । उनले १० ओभर बलिङ गर्ने क्रममा एक मेडन राख्दै २५ रन मात्र खर्चे । यस्तै ललितनारायण राजवंशी र कुशल मल्लले दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

नेपाल केहीबेरमा जवाफी ब्याटिङ गर्ने तयारीमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !