काठमाडौँ । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन् । एक १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेका लामिछानेले नेपालको कानुन मान्ने र आफूमाथि लागेको अभियोगको सामना गर्ने बताएका हुन् ।
आज शुक्रवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै लामिछानेले नेपालको कानूनमा आफू पूर्ण विश्वास रहेको भन्दै सीपीएलबाट बिदा लिएर छिट्टै नेपाल फर्कने समेत बताएका छन् । उनले सबै आरोपहरू आधारहीन रहेको र आफू त्यसको सामना गर्न तयार रहेको पनि बताएका छन् ।
जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पक्राउ पूर्जी जारी गर्न अनुमति दिएपछि क्यानले लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो । प्रहरीले अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।
एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी थिइन् । जिल्ला अदालत, काठमाडौंले पक्राउ गर्न अनुमति दिएसंगै अब प्रहरीले लामिछानेलाई पक्राउ गर्ने बाटो खुलेको छ । अव उनलाई प्रहरीले कुनै पनि बेला पक्राउ गर्न सक्छ ।
महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।
— Sandeep Lamichhane (@Sandeep25) September 9, 2022