१२ असार २०८१, बुधबार

यू-२३ एसियन कप : नेपाल लेबनानसँग पराजित


नेपाली फुटबल टोली

काठमाडौँ । एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आज भएको खेलमा नेपाल लेबनानसँग ४-० गोल अन्तरले पराजित भएको हो ।

लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे भने मोहमद नासिर र मोहमद हेइदरले एक-एक गोल गरे । खेलको २६औँ मिनेटमा फरानले गोल गर्दै लेबनानलाई सुरुआती अग्रता दिलाए । खेलको ४७औँ मिनेटमा फरानले व्यक्तिगत दोस्रो गोल गर्दै लेबनानलाई २-० को अग्रता दिलाए ।

खेलको ७४ औँ मिनेटमा मोहमद नासिरले गोल गर्दा लेबनान ३-० ले अघि रह्यो । त्यसपछि खेलको ८२औँ मिनेटमा हेइदरले गोल गर्दै लेबनानलाई ४-० को जित दिलाए ।

प्रतियोगितामा नेपाल जितविहीन रह्यो । समूह बी मा रहेको नेपालले पहिलो खेलमा इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको थियो । नेपाल समूहको पुछारमा रह्यो । लेबनान ३ अङ्क जोडेर तेस्रो स्थानमा रह्यो ।

यस समूहमा ६ अङ्क जोडेको ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ भने समान ६ अङ्क नै रहेको इरान दोस्रो स्थानमा रहेको छ । ताजिकिस्तान र इरानबीचको खेल आजै हुनेछ । यस समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् ।

यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता आगामी सन् २०२२ को जुन १ देखि १९ तारिखसम्म हुने तालिका रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !