९ फागुण, कास्की । प्रदेश ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करन केसीलाई प्रदेश सरकारका तर्फवाट १ लाख प्रदान गर्ने घोषणा गरेका छन् ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा बुधबार आयोजित कार्यक्रममा सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै उनले आगामी चैत महिनामा आउने प्रदेशको नीति, कार्यक्रम तथा बजेटमा खेलकुदको विकासमा जोड दिइने जानकारी दिए ।
नेपाली खेलाडीको मेहनत, परिश्रम र लगनशीलताका कारण मुलुकलाई खेलकुदको माध्यमवाट विश्वसामु परिचित गराउन सफल भएको बताउँदै उनले पोखरा रंगशालालाई अन्तर्राष्ट्रियस्तरको रंगशालाका रुपमा विकास गरिने बताए ।
नामिबियामा भएको खेलमा नेपाललाई जिताउन निर्णायक भूमिका खेल्ने केसीसहितको टिमलाई जिम्बाबेमा हुने विश्वकप क्रिकेटको फाइनल खेलमा सफलता प्राप्तिका लागि जुट्न आग्रह गरे ।